एफएएको सञ्चार प्रणालीमा समस्या, अमेरिकामा हजारौँ उडान प्रभावित

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकामा हवाई यातायात नियन्त्रणसम्बन्धी सञ्चार प्रणालीमा समस्या आएपछि शुक्रबार देशभरका विमानस्थलबाट हुने उडान रोकिएको थियो। फ्लाइटअवेयरको त्यतिबेलाको तथ्याङ्कअनुसार ६ हजार ५७५ उडान ढिला भएका र ३३४ उडान रद्द भएका थिए।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा सावधानीका रूपमा सबै विमानस्थलबाट प्रस्थान गर्ने उडानलाई अर्को सूचना नआएसम्म रोक्न निर्देशन दिएको थियो। आकाशमा रहेका विमानलाई अवतरण गर्न दिइए पनि अन्तर्राष्ट्रिय आगमन उडानलाई भने परिस्थितिअनुसार व्यवस्थापन गरिएको थियो।
अमेरिकी यातायातमन्त्री सेन डफीका अनुसार सञ्चारमा आएको अवरोधले देशभरका २२ वटा क्षेत्रीय हवाई यातायात नियन्त्रण केन्द्रलाई असर पारेको थियो। एफएएका प्राविधिक टोलीले समस्या जाँच गरिरहेको जनाइएको थियो।





