नेपालको भविष्य र द्विपक्षीय सम्बन्धबारे प्रधानमन्त्री शाहसँग स्पष्ट दृष्टिकोण छ : मोदी

ड्रागन मिडिया समाचार कक्ष
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालको भविष्य र नेपाल–भारत सम्बन्धलाई अघि बढाउने स्पष्ट दृष्टिकोण रहेको बताएका छन्। उनले नेपालका लागि दुई खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको आर्थिक सहायता प्याकेज उपलब्ध गराउने घोषणासमेत गरेका छन्।
सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शाहसँग उच्चस्तरीय द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको विकास र समृद्धिमा भारतले सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
मोदीले नेपाल र भारतबीचको सम्बन्ध साझा इतिहास, संस्कृति, सभ्यता र गहिरो जनस्तरीय सम्बन्धमा आधारित रहेको उल्लेख गरे। उनले प्रधानमन्त्री शाहको नेतृत्वमा दुई देशबीचको साझेदारीलाई नयाँ अवसर र उपलब्धिसँग जोडेर अघि बढाउन सकिने विश्वास व्यक्त गरे।
भारतीय प्रधानमन्त्रीले घोषणा गरेको दुई खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको आर्थिक सहायता प्याकेजलाई प्रधानमन्त्री शाहको भ्रमणको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यद्यपि उक्त सहयोगको अनुदान तथा सहुलियतपूर्ण ऋणसम्बन्धी संरचना, प्राथमिकताका क्षेत्र र कार्यान्वयनका विस्तृत शर्तहरू स्पष्ट हुन बाँकी छन्।
मोदीले नेपालको जलस्रोतमा स्वच्छ ऊर्जा उत्पादनको विशाल सम्भावना रहेको र भारतमा ऊर्जाको ठूलो बजार उपलब्ध भएकाले जलविद्युत विकास तथा ऊर्जा व्यापार विस्तारबाट नेपालले उल्लेखनीय आर्थिक लाभ प्राप्त गर्न सक्ने बताए।
उनले नेपालमा कृषि तथा औद्योगिक क्षेत्रको एकीकृत विकासका लागि एग्रो–इन्डस्ट्रियल पार्क स्थापना गर्न भारतले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको चर्चा गर्दै मोदीले सन् २०१८ मा आफूले गरेको जनकपुरधाम भ्रमण स्मरण गरे। उनले नेपाल र भारतका धार्मिक स्थलहरूबीचको ऐतिहासिक सम्बन्धलाई दुवै देशको साझा सभ्यतागत सम्पदाका रूपमा प्रस्तुत गरे।
संयुक्त पत्रकार सम्मेलनअघि प्रधानमन्त्री शाह र मोदीले अयोध्या–जनकपुरधाम प्रत्यक्ष रेल सेवाको संयुक्त रूपमा शुभारम्भ गरेका थिए।
सरयू–कमला एक्सप्रेस नाम दिइएको उक्त रेल सेवाले भारतको उत्तर प्रदेशस्थित अयोध्या र नेपालको जनकपुरधामबीच सीधा यात्रु सम्पर्क स्थापित गर्नेछ। यसबाट धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान र सीमापार आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।
पत्रकार सम्मेलनअघि दुई देशबीचको विकास तथा पूर्वाधार सहकार्य झल्काउने दृश्य सामग्रीसमेत प्रस्तुत गरिएको थियो। त्यसमा मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन, नेपालका जलविद्युत आयोजना तथा भारतीय सहयोगमा सञ्चालित अन्य परियोजनालाई समेटिएको थियो।
यसअघि हैदरावाद हाउसमा सम्पन्न द्विपक्षीय वार्तामा दुवै प्रधानमन्त्रीले आर्थिक साझेदारी, ऊर्जा, व्यापार, यातायात सम्पर्क, पूर्वाधार विकास र पारस्परिक हितका विषयमा छलफल गरेका थिए।
प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गरेका थिए।
द्विपक्षीय वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री शाहले गरेका थिए। प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए।
भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्रीका प्रधान सचिव पी.के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा आर्थिक सहायता, जलविद्युत, व्यापार र अन्तरदेशीय पूर्वाधार सम्पर्क विस्तारलाई प्राथमिकता दिइएको छ।
घोषित आर्थिक सहयोग र प्रस्तावित परियोजनाहरूबाट नेपालले प्राप्त गर्ने वास्तविक लाभ भने वित्तीय शर्त, परियोजना छनोट, कार्यान्वयन प्रक्रिया तथा दुवै देशबीच हुने थप समझदारीमा निर्भर रहनेछ।





