भारतमा प्रधानमन्त्री शाहलाई राजकीय सम्मानसहित ‘गार्ड अफ अनर’

ड्रागन मिडिया समाचार कक्ष
भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागतसहित ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा आयोजित विशेष समारोहमा भारतीय सशस्त्र बलको टुकडीले प्रधानमन्त्री शाहलाई सम्मान अर्पण गरेको हो।
राष्ट्रपति भवनमा प्रधानमन्त्री मोदीले शाहलाई स्वागत गरेका थिए। शाह गाडीबाट ओर्लिएलगत्तै मोदीले उनलाई अंकमाल गर्दै आत्मीय स्वागत गरेका थिए।
भारतीय प्रधानमन्त्रीको निमन्त्रणामा आइतबार नयाँ दिल्ली पुगेका शाहको यो प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको पहिलो भारत भ्रमण हो।
औपचारिक स्वागत समारोहपछि दुवै प्रधानमन्त्रीबीच हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। वार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष, आर्थिक तथा पूर्वाधार सहकार्य र दुई देशबीचका विचाराधीन विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ।





