हङकङको निर्वाचन समितिका ७२३ सिटको नतिजा सार्वजनिक, थप २५९ जना निर्विरोध निर्वाचित

ड्रागन मिडिया समाचार कक्ष
चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रको निर्वाचन समितिका ३१ उपक्षेत्रमा मतदान भएका सबै ७२३ सिटको नतिजा आइतबार साँझ सार्वजनिक भएको छ। ती सिटका लागि ८५६ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए। नयाँ समितिको पाँचवर्षे कार्यकाल सन् २०२७ फेब्रुअरी १ देखि सन् २०३२ जनवरी ३१ सम्म रहनेछ।
सिन्ह्वाका अनुसार मतदानअघि नै २५९ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। यसबाहेक ३४१ जनाको पदेन सदस्यका रूपमा दर्ता र १५६ जनाको मनोनयन वैध ठहरिएको थियो।
नतिजा सार्वजनिक भएपछि हङकङका प्रमुख कार्यकारी जोन लीले निर्वाचनमा सक्षम, प्रतिबद्ध र रचनात्मक भूमिका निर्वाह गर्ने देशभक्त उम्मेदवारबीच स्वस्थ प्रतिस्पर्धा भएको बताए। उनका अनुसार निर्वाचनले ‘देशभक्तहरूद्वारा हङकङको शासन’ भन्ने सिद्धान्तअन्तर्गत भएको लोकतान्त्रिक विकासलाई प्रतिबिम्बित गरेको छ। उनले समितिका सदस्यहरूले जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्दै ‘एक देश, दुई व्यवस्था’ सिद्धान्तको निरन्तर कार्यान्वयनमा योगदान दिने अपेक्षा व्यक्त गरे।
हङकङको आधारभूत कानुनका अनुसूची १ र २ अनुसार १,५०० सदस्यीय निर्वाचन समितिले प्रमुख कार्यकारी र विधायिका परिषदका केही सदस्य निर्वाचित गर्छ। प्रमुख कार्यकारी र विधायिका परिषद सदस्य पदका लागि उम्मेदवार मनोनयन गर्ने जिम्मेवारी पनि यही समितिको हो।





