सिड्नीमा मिचाहा रातो कमिलाको दोस्रो गुँड भेटियो, अघिल्लो घटनासँगको सम्बन्धबारे अनुसन्धान

ड्रागन मिडिया समाचार कक्ष
अस्ट्रेलियाको सिड्नीमा दुई महिनाको अन्तरमा मिचाहा प्रजातिको रातो कमिला ‘रेड इम्पोर्टेड फायर एन्ट’को दोस्रो गुँड फेला परेको छ। सिड्नीको केन्द्रबाट १७ किलोमिटर पश्चिममा पर्ने अबर्नको औद्योगिक क्षेत्रमा एक व्यक्तिले सप्ताहान्तमा दिएको सूचनाका आधारमा जैवसुरक्षा टोलीले गुँड पहिचान गरी नष्ट गरेको हो।
न्यु साउथ वेल्सकी कृषिमन्त्री तारा मोरियार्टीले सोमबार जारी गरेको वक्तव्यअनुसार विज्ञहरूले उक्त गुँड करिब एक वर्ष पुरानो हुन सक्ने अनुमान गरेका छन्। यसअघि सेप्टेम्बरमा सिड्नीको केन्द्रबाट ११ किलोमिटर पश्चिममा पर्ने एनफिल्डको एक प्रमुख मालवाहक केन्द्रमा यही प्रजातिको गुँड भेटिएपछि अधिकारीहरूले निगरानी बढाएका थिए।
मोरियार्टीका अनुसार अबर्नमा कमिला कसरी आइपुगे र त्यहाँ भेटिएको गुँडको एनफिल्डको घटनासँग सम्बन्ध छ वा कमिला अर्कै ठाउँबाट आएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको छ। जैवसुरक्षा टोलीले अबर्नमा निगरानी शुरु गरेको छ। आसपासमा थप गुँड छन् कि भनेर पत्ता लगाउन यथाशीघ्र तालिमप्राप्त कुकुर परिचालन गरिने उनले बताइन्।
विज्ञहरूका अनुसार यो प्रजाति अस्ट्रेलियाभर फैलिए वातावरण र अर्थतन्त्रमा ठूलो क्षति पुग्न सक्छ। मानिसले सामान ओसारपसार गर्दा कमिला एक ठाउँबाट अर्को ठाउँमा फैलिने जोखिम बढी हुने भन्दै मोरियार्टीले शंकास्पद कमिला वा गुँड देखेमा सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेकी छन्।





