९ मंसिर २०८३, मंगलवार

मृत्युदण्ड कार्यान्वयनलाई तीव्रता दिन ट्रम्पको निर्देशन

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका कैदीहरूको सजाय कार्यान्वयन प्रक्रियालाई तीव्रता दिन महान्यायाधिवक्तालाई निर्देशन दिएका छन्।

रुसी समाचार संस्था तासका अनुसार सोमबार अमेरिकी न्याय मन्त्रालयमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले संघीय मृत्युदण्ड कार्यान्वयनमा हुने ढिलाइ अन्त्य गर्न निर्देशन जारी गरेको बताएका हुन्।

उनले निर्णायक मण्डलले निर्णय गरिसकेपछि मृत्युदण्डको सजाय शीघ्र र निश्चित रूपमा कार्यान्वयन हुने बताएका छन्।

ट्रम्पको निर्देशनमा नाबालिगको हत्या वा बलात्कार तथा मानव बेचबिखनका क्रममा भएका हत्यासम्बन्धी मुद्दामा मृत्युदण्डको माग गर्न न्याय मन्त्रालयलाई निर्देशन दिइएको छ।

राष्ट्रपति ट्रम्पले क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमको मृत्युदण्डसम्बन्धी नीतिको पनि कडा आलोचना गरेका छन्।

गभर्नर न्युसमले यसै महिनाको प्रारम्भमा क्यालिफोर्नियामा मृत्युदण्डको सजाय पाएका सबै ५४८ कैदीको सजायलाई आजीवन कारावासमा परिणत गर्ने निर्णय गरेका थिए।

लामो समयदेखि मृत्युदण्डको विरोध गर्दै आएका न्युसमलाई सन् २०२८ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बन्न सक्ने प्रमुख सम्भावित नेतामध्ये एक मानिन्छ।

उनले आगामी जनवरीमा राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने वा नदिनेबारे निर्णय गर्ने बताएका छन्।

ट्रम्पले सन् २०२५ जनवरीमा राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि संघीय मृत्युदण्ड पुनः कार्यान्वयन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। त्यसपछि उनको प्रशासनले संघीय अदालतबाट सुनाइएका मृत्युदण्ड कार्यान्वयनमा लगाइएको रोक हटाएको थियो।

ट्रम्पको पछिल्लो निर्देशनले गम्भीर आपराधिक घटनामा कठोर दण्डात्मक नीति अवलम्बन गर्ने उनको प्रशासनको प्राथमिकतालाई निरन्तरता दिएको छ।

अमेरिकामा मृत्युदण्डको वैधानिकता, यसको प्रभावकारिता र मानवीय पक्षलाई लिएर लामो समयदेखि राजनीतिक तथा कानुनी बहस हुँदै आएको छ। संघीय सरकार र विभिन्न राज्यका मृत्युदण्डसम्बन्धी नीतिमा समेत भिन्नता छ।

ट्रम्प प्रशासनको पछिल्लो निर्देशन र क्यालिफोर्निया सरकारको निर्णयले मृत्युदण्डसम्बन्धी अमेरिकी राजनीतिक नेतृत्वबीच विद्यमान नीतिगत मतभेदलाई पुनः उजागर गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button