बागमती प्रदेशमा कर्मचारी व्यवस्थापन अझै अधुरो, मन्त्रालयगत सरुवामा ढिलाइ

ड्रागन मिडिया सम्वाददाता
बागमती प्रदेश सरकारले मन्त्रालय पुनर्संरचनासँगै सुरु गरेको कर्मचारी व्यवस्थापन तथा सरुवा प्रक्रिया चार महिना बितिसक्दा पनि पूरा गर्न सकेको छैन। संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणमा भएको ढिलाइ, मन्त्रालयहरूबीचको समन्वयसम्बन्धी समस्या र प्रशासनिक प्रक्रियाका कारण कर्मचारी व्यवस्थापन प्रभावित भएको हो।
प्रदेश सरकारले गत साउन १ गतेदेखि मन्त्रालयको सङ्ख्या आठमा सीमित गर्दै नयाँ संगठनात्मक संरचनाअनुसार कर्मचारी व्यवस्थापन सुरु गरेको थियो। तर साउनदेखि असोजसम्म तीन महिना ओएण्डएम सर्वेक्षणमै बितेपछि कर्मचारी सरुवा तथा पदस्थापनको काम अपेक्षित गतिमा अघि बढ्न सकेन।
प्रदेशका प्रमुख सचिवको अध्यक्षतामा बसेको बैठकले कात्तिक मसान्तभित्र सम्पूर्ण कर्मचारी सरुवा सम्पन्न गर्ने निर्णय गरेको थियो। तर मंसिरको दोस्रो साता सुरु भइसक्दा पनि स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारजस्ता महत्वपूर्ण मन्त्रालयमा प्रक्रिया पूरा भएको छैन।
कर्मचारी सरुवाको मापदण्ड, मन्त्रालयहरूबीचको अधिकारक्षेत्र र समन्वयका विषयमा समस्या देखिएको भन्दै कर्मचारीहरूले गुनासो गरेका छन्। कतिपय मन्त्रालयले आवश्यक प्रक्रिया पूरा नगरी सरुवा सूची सार्वजनिक गरेको विषयसमेत विवादमा परेको छ।
विशेषगरी उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र वन मन्त्रालयले मंसिर ३ गते सार्वजनिक गरेको कर्मचारी सरुवा सूची तीनपटकसम्म परिवर्तन गरी वेबसाइटमा राखिएको थियो। यसले सरुवा प्रक्रियाको पारदर्शिता र प्रशासनिक व्यवस्थापनबारे प्रश्न उठाएको छ।
प्रदेशमा सबैभन्दा बढी कर्मचारी दरबन्दी रहेको स्वास्थ्य मन्त्रालयको सरुवा प्रक्रिया अझै सुरु हुन सकेको छैन। करिब एक हजार पाँच सयभन्दा बढी दरबन्दी रहेको मन्त्रालयमा सचिवको सरुवा भएपछि अस्पतालदेखि जनस्वास्थ्य कार्यालयसम्मका कर्मचारीको व्यवस्थापन प्रभावित भएको छ।
त्यसैगरी, करिब सात सयदेखि आठ सय कर्मचारी रहेको कृषि मन्त्रालयले प्रारम्भिक तयारी गरे पनि सरुवा प्रक्रिया टुङ्ग्याउन सकेको छैन।
कर्मचारी व्यवस्थापनमा भएको ढिलाइले नियमित सार्वजनिक सेवा प्रवाह र विकास आयोजना कार्यान्वयनमा समेत असर पर्न थालेको बताइएको छ। विशेषगरी प्राविधिक जनशक्तिको पदस्थापन तथा कार्यक्षेत्र निर्धारण समयमै हुन नसक्दा मन्त्रालयगत काम प्रभावित हुने अवस्था देखिएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन महाशाखा प्रमुख रामबाबु पुरीले मन्त्रालय पुनर्संरचनापछि संगठन तथा व्यवस्थापन सर्वेक्षण र कर्मचारी सरुवाको काम नयाँ संरचनाअनुसार गर्नुपरेकाले समय लागेको बताएका छन्।
उनका अनुसार विपद र सरकार परिवर्तनका कारण पनि कर्मचारी व्यवस्थापनको कार्यतालिका प्रभावित भएको हो। हाल प्रशासन, वन, सामाजिक विकास र खानेपानीलगायतका क्षेत्रको कर्मचारी सरुवासम्बन्धी काम पूरा भइसकेको छ भने स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार मन्त्रालयको काम बाँकी छ।
मन्त्रालय पुनर्संरचनापछि खारेज वा समायोजन भएका निकायका कर्मचारीको खटनपटनमा कानुनी अधिकारक्षेत्रसम्बन्धी जटिलता देखिएको पुरीले जानकारी दिए।
उनका अनुसार साबिकका उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको संरचना परिवर्तन हुँदा त्यहाँ कार्यरत वन सेवा र सिँचाइलगायत अन्य सेवाका कर्मचारीको व्यवस्थापन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट हुनुपर्ने कानुनी व्यवस्था थियो। तर सम्बन्धित मन्त्रालयले आवश्यक समन्वय नगरी आफ्नै सरुवा सूचीमा ती कर्मचारीलाई समावेश गरेपछि समस्या उत्पन्न भएको थियो। उक्त विषय अहिले व्यवस्थापन गरिएको उनले बताए।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा बहुवर्षीय ठेक्का तथा स्रोत सुनिश्चिततासम्बन्धी काम भइरहेकाले त्यहाँको कर्मचारी सरुवा केही समय रोकिएको छ।
पुरीका अनुसार महत्वपूर्ण आयोजना प्रक्रियाकै बीच कर्मचारी सरुवा गर्दा रमाना लिने र नयाँ कार्यालयमा हाजिर हुने क्रममा १५ देखि २० दिनसम्म प्रशासनिक काम प्रभावित हुन सक्छ। यसले बहुवर्षीय ठेक्काको समयसीमामा समेत असर पार्न सक्ने भएकाले मन्त्रालयले तत्कालका काम पूरा गरेपछि सरुवा अघि बढाउने तयारी गरेको छ।
प्राविधिक मन्त्रालयहरूले कर्मचारी सरुवाको प्रस्ताव तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गर्ने र निर्धारित मापदण्डअनुसार अन्तिम निर्णय गर्ने व्यवस्था रहेको उनले स्पष्ट पारे।
सम्बन्धित मन्त्रालयबाट प्रस्ताव प्राप्त भए बाँकी सरुवा तथा कर्मचारी व्यवस्थापनको काम एक साताभित्र सम्पन्न गर्न सकिने उनको भनाइ छ।
यद्यपि कर्मचारी सरुवामा समन्वय अभाव र प्रक्रियागत विवाद रहेको भन्ने आरोपलाई पुरीले अस्वीकार गरेका छन्। उनका अनुसार सुगम क्षेत्रमा लामो समयदेखि कार्यरत कर्मचारीलाई दुर्गम स्थानमा सरुवा गर्दा व्यक्तिगत तथा पारिवारिक कारण देखाउँदै असन्तुष्टि व्यक्त गर्ने प्रवृत्तिले पनि गुनासो बढाएको हो।
प्रदेश सरकारको प्रशासनिक पुनर्संरचना र कर्मचारी व्यवस्थापन समयमै सम्पन्न हुन नसक्दा नियमित सेवा प्रवाह तथा विकास कार्यक्रम सञ्चालनमा चुनौती थपिएको छ। अब बाँकी मन्त्रालयमा सरुवा प्रक्रिया पूरा गर्दै कर्मचारीको जिम्मेवारी र पदस्थापन स्पष्ट पार्नु प्रदेश सरकारको तत्कालीन प्रशासनिक कार्यभार बनेको छ।





