९ मंसिर २०८३, मंगलवार

उग्रतारा भगवती मन्दिरमा आज दिउसेडी मेला, हजारौँ भक्तजन आउने अपेक्षा

ड्रागन मिडिया सम्वाददाता

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज मंगलबार परम्परागत दिउसेडी मेला लाग्दैछ। डडेल्धुराको अमरगढी नगरपालिका–८ मा अवस्थित मन्दिरमा हरेक वर्ष आयोजना हुने यस मेलामा हजारौँ भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।

उग्रतारा क्षेत्र विकास समितिका अनुसार स्थानीय भाषामा ‘देहिजाँत’ भनिने मेला परम्परागत धार्मिक विधिअनुसार मनाइन्छ। कात्तिक शुक्ल पूर्णिमाको राति लाग्ने मेलालाई ‘रतेडी’ र त्यसको भोलिपल्ट दिउँसो आयोजना हुने मेलालाई ‘दिउसेडी’ भन्ने प्रचलन छ।

समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत विधिअनुसार पूजाआराधना गरेपछि मेला सुरु हुन्छ। पुस्तौँदेखि कायम रहेको यो परम्परा स्थानीय समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको महत्वपूर्ण आधारका रूपमा रहेको छ।

डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा रमणीय डाँडामा अवस्थित उग्रतारा भगवती मन्दिर सुदूरपश्चिमको प्रमुख धार्मिक गन्तव्यमध्ये एक मानिन्छ। यहाँ दर्शन तथा पूजाआराधनाका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट समेत भक्तजन आउने गरेका छन्।

मन्दिरको उत्पत्तिसँग स्थानीय धार्मिक किंवदन्ती जोडिएको छ। जनविश्वासअनुसार प्राचीन समयमा स्थानीय साकी समुदायका एक किसानले हलो जोत्ने क्रममा जमिनमा रहेको शिलामा चोट पुर्‍याउँदा रगत बगेको थियो। किसानले आफूसँग ल्याएको खिचडी लगाउँदा रगत बग्न रोकिएपछि त्यस स्थानमा देवी प्रकट भएको विश्वास गरिन्छ।

यही धार्मिक मान्यताका आधारमा मन्दिर स्थापना भएको र कात्तिक शुक्ल पूर्णिमाका अवसरमा विशेष पूजाआराधना तथा मेला आयोजना गर्ने परम्परा सुरु भएको जनविश्वास छ।

उग्रताराको मेला धार्मिक अनुष्ठानमा मात्र सीमित छैन। यसले स्थानीय कला, संस्कृति, परम्परागत सामाजिक सम्बन्ध तथा ग्रामीण आर्थिक गतिविधिलाई पनि जीवन्त राख्दै आएको छ।

मेलामा स्थानीय कृषि उत्पादन, घरेलु सामग्री तथा परम्परागत वस्तुको बिक्री हुने भएकाले स्थानीय उत्पादक र साना व्यवसायीका लागि समेत यो महत्वपूर्ण अवसर मानिन्छ। ठूलो सङ्ख्यामा भक्तजन तथा आगन्तुकको उपस्थितिले स्थानीय व्यापार र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै अमरगढी नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

उग्रतारा भगवती मन्दिरमा आयोजना हुने वार्षिक मेलाले सुदूरपश्चिमको धार्मिक परम्परा, सांस्कृतिक सम्पदा र सामुदायिक पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button