देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा रोज राणा सर्वसम्मत निर्वाचित

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा) सर्वसम्मत निर्वाचित भएका छन्।
दाङको देउखुरीस्थित पाखापानीमा सोमबार सम्पन्न देउवा पक्षको दोस्रो प्रदेश अधिवेशनबाट राणा सर्वसम्मत रूपमा सभापति चयन भएको निर्वाचन समितिले जनाएको छ।
प्यूठान निवासी राणा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत हुन्। लामो समयदेखि प्रदेश राजनीतिमा सक्रिय उनी नेतृत्व चयनका लागि भएको आन्तरिक सहमतिपछि सर्वसम्मत निर्वाचित भएका हुन्।
अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट तीन हजारभन्दा बढी प्रतिनिधि तथा सहभागीको उपस्थिति रहेको आयोजक पक्षले जनाएको छ।
राणा प्रदेश सभापतिमा निर्वाचित भएपछि देउवा पक्षका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
प्रदेश सभापतिको चयनसँगै अन्य पदाधिकारी तथा प्रदेश कार्यसमितिका सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गर्ने प्रयास जारी रहेको निर्वाचन समितिले जनाएको छ।
नेपाली कांग्रेसभित्र विकसित पछिल्लो राजनीतिक परिस्थितिका बीच सम्पन्न अधिवेशनलाई देउवा पक्षको प्रदेशस्तरीय संगठनात्मक गतिविधिको महत्वपूर्ण हिस्साका रूपमा हेरिएको छ।





