नारायणघाट–बुटवल सडक विस्तारको मुख्य काम सम्पन्न, डिभाइडरमा दुबो रोपिँदै

ड्रागन मिडिया सम्वाददाता
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड विस्तारको मुख्य निर्माण कार्य सम्पन्न भएपछि सडक सौन्दर्यीकरण र बाँकी संरचनागत सुधारका काम तीव्र पारिएको छ। करिब ११३ किलोमिटर लामो सडकको बीचमा रहेको तीन मिटर चौडा डिभाइडरमा दुबो तथा सजावटका बिरुवा रोप्ने काम भइरहेको छ।
नारायणघाट–बुटवल सडक विस्तार योजनाको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार गैँडाकोट, देवचुली र कावासोतील गायतका क्षेत्रमा डिभाइडरमा दुबो रोप्ने काम भइरहेको छ। सडकको कालोपत्र तथा ढलानसम्बन्धी प्रमुख काम पूरा भइसकेकाले अहिले सर्भिस लेन, पैदलमार्ग, रेलिङ, रङरोगन तथा सौन्दर्यीकरणलाई प्राथमिकता दिइएको छ।
विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको पूर्व–पश्चिम राजमार्गको यो महत्वपूर्ण खण्ड करिब ६५ वर्षपछि स्तरोन्नति भएको हो। सडक विस्तारका लागि २०७५ माघमा ठेक्का सम्झौता भएको थियो भने सोही वर्षको चैतदेखि निर्माण सुरु गरिएको थियो।
सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले चारपटक म्याद थप गरिएको थियो। करिब आठ वर्षको निर्माण प्रक्रियापछि गत साउनमा सडकको मुख्य विस्तार कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ।
सूचना अधिकारी खनालका अनुसार सडक आयोजनाले गत साउनमै निर्माण सम्पन्न भएका संरचना जिम्मा लिइसकेको भए पनि औपचारिक हस्तान्तरण भने भएको छैन। आगामी पाँच वर्षसम्म निर्माण कम्पनीले सडकमा देखिने त्रुटि तथा प्राविधिक समस्या सुधार गर्नुपर्ने व्यवस्था छ।
नारायणघाट–बुटवल सडक विस्तारको ठेक्का अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्राप्त गरेको थियो।
आयोजनालाई गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटरको पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म ४८ किलोमिटरको पश्चिमी खण्डमा विभाजन गरिएको थियो।
करिब १७ अर्ब रुपैयाँ लागत रहेको सडक विस्तार आयोजनामा एसियाली विकास बैंकले कुल बजेटको ८५ प्रतिशत रकम १.५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको छ।
सडकको भौगोलिक अवस्था र यातायात चापअनुसार फरक संरचना निर्माण गरिएको छ। कुल ११३ किलोमिटरमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटर छ लेन र दाउन्ने क्षेत्रको १४ किलोमिटर तीन लेनमा विस्तार गरिएको छ।
ग्रामीण तथा वन क्षेत्रमा चार लेन, शहरी तथा बजार क्षेत्रमा अतिरिक्त सर्भिस लेनसहित छ लेन र भौगोलिक रूपमा चुनौतीपूर्ण दाउन्ने क्षेत्रमा तीन लेनको सडक निर्माण गरिएको हो।
दाउन्ने क्षेत्रमा पटकपटक कालोपत्र उप्किने तथा सडक भासिने समस्या देखिएपछि करिब ११ किलोमिटर क्षेत्रमा सिमेन्ट कङ्क्रिट प्रयोग गरिएको छ। यसले कमजोर भूभागमा सडकको टिकाउपन बढाउने अपेक्षा गरिएको छ।
सडक विस्तारअन्तर्गत २१ ठूला पुल, ४३ साना पुल र पानी निकासका लागि ४६ कल्भर्ट निर्माण गरिएको छ। ठूला पुलमध्ये नयाँ संरचना पुराना पुलको दक्षिणतर्फ दुई लेनमा निर्माण गरिएको आयोजनाले जनाएको छ।
विस्तारका क्रममा सडक क्षेत्रमा रहेका ४९ हजार ८३० वटा रूख काटिएका थिए। अहिले सडकको डिभाइडरमा दुबो तथा सजावटका बिरुवा रोप्ने काम भइरहे पनि कटान भएका रूखको क्षतिपूर्तिस्वरूप वृक्षरोपण र वातावरणीय पुनर्स्थापनाको प्रगतिबारे सार्वजनिक विवरणमा स्पष्ट जानकारी दिइएको छैन।
सडक विस्तारसँगै सवारीसाधनको गति बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि क्षेत्रअनुसार गति सीमा निर्धारण गरिएको छ।
आयोजनाका अनुसार खुला तथा सिधा सडकमा अधिकतम ८० किलोमिटर प्रतिघण्टा, बजार तथा क्रसिङ क्षेत्रमा ६० किलोमिटर प्रतिघण्टा र वन क्षेत्र तथा दाउन्नेको पहाडी खण्डमा ४० किलोमिटर प्रतिघण्टा गति सीमा तोकिएको छ।
सवारीसाधनको गति नियन्त्रण तथा सडक सुरक्षाका लागि लेन मार्किङ, ट्राफिक सङ्केत, गति सीमा सूचना र स्पिड गनमार्फत निगरानी गर्ने व्यवस्था मिलाइएको छ।
नारायणघाट–बुटवल सडक पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण यातायात मार्ग हो। यसको स्तरोन्नतिले यात्राको सहजता, मालवाहक सवारीसाधनको आवागमन तथा पूर्वाधार सम्पर्कमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
मुख्य निर्माण कार्य सम्पन्न भएसँगै आयोजनाको ध्यान अब सडक सुरक्षा, बाँकी संरचनाको सुधार, नियमित मर्मत तथा सौन्दर्यीकरणमा केन्द्रित भएको छ।





