९ मंसिर २०८३, मंगलवार

किशोरकिशोरीको अनलाइन सुरक्षा बढाउन टिकटकद्वारा नयाँ ‘फ्यामिली पेयरिङ’ र शिक्षक मार्गदर्शिका सार्वजनिक

ड्रागन मिडिया समाचार कक्ष

लोकप्रिय सामाजिक सञ्जाल टिकटकले किशोरकिशोरीको अनलाइन सुरक्षा, डिजिटल गतिविधिको व्यवस्थापन र अभिभावकको सहभागिता प्रभावकारी बनाउन ‘फ्यामिली पेयरिङ’ सुविधाको परिमार्जित संस्करण सार्वजनिक गरेको छ। कम्पनीले शिक्षक तथा शैक्षिक संस्थाका लागि डिजिटल सुरक्षा र मिडिया साक्षरतासम्बन्धी नयाँ मार्गदर्शिका पनि ल्याएको छ।

टिकटकका अनुसार परिमार्जित फ्यामिली पेयरिङ प्रणालीले अभिभावकलाई आफ्ना किशोरकिशोरीको डिजिटल गतिविधिबारे थप जानकारी उपलब्ध गराउनेछ। यसबाट उनीहरूले सामाजिक सञ्जालको प्रयोग, अनलाइन अन्तरक्रिया र सामग्रीप्रतिको रुचि बुझ्दै आवश्यक सुरक्षा व्यवस्थापन गर्न सक्नेछन्।

नयाँ प्रणालीमा स्क्रिन टाइम, अनलाइन अन्तरक्रिया, सामग्रीप्रतिको रुचि र सार्वजनिक पोस्टसम्बन्धी जानकारीलाई चार प्रमुख भागमा विभाजन गरिएको छ।

स्क्रिन टाइमसम्बन्धी सुविधामार्फत अभिभावकले किशोरकिशोरीले टिकटक प्रयोग गर्ने औसत समय, रातिको सक्रियता तथा समय व्यवस्थापनका सेटिङहरू हेर्न सक्नेछन्। कम्पनीले यसअघि नै किशोरकिशोरीका खातामा दैनिक ६० मिनेटको पूर्वनिर्धारित स्क्रिन टाइम, निजी खातासम्बन्धी सुरक्षा व्यवस्था तथा उमेरअनुकूल सामग्री प्रदर्शन गर्ने नीति लागू गरेको जनाएको छ।

अनलाइन अन्तरक्रियासम्बन्धी सुविधाले किशोरकिशोरीका फलोअर तथा उनीहरूले फलो गरेका खाताको सङ्ख्यामा आएको परिवर्तन, सम्पर्कमा रहेका खाता र ब्लक गरिएका खाताबारे जानकारी उपलब्ध गराउनेछ।

आगामी महिनाहरूमा किशोरकिशोरीले टिकटकमा कसलाई सन्देश पठाइरहेका छन् भन्ने जानकारीसमेत अभिभावकले हेर्न सक्ने सुविधा थप्ने कम्पनीको योजना छ।

त्यसैगरी, किशोरकिशोरीले फलो गरेका प्रमाणित सामग्री निर्माताका केही भिडियोमार्फत उनीहरूको रुचि र अनलाइन गतिविधिको प्रवृत्ति बुझ्न सकिने व्यवस्था गरिएको छ। सार्वजनिक रूपमा राखिएका साप्ताहिक पोस्ट तथा तिनमा प्राप्त भ्युजसम्बन्धी विवरण पनि अभिभावकले हेर्न सक्नेछन्।

टिकटकले परिमार्जित प्रणालीलाई स्पष्ट तथा उपयोगी जानकारी, निर्णयका लागि आवश्यक सन्दर्भ र किशोरकिशोरीको गोपनीयताप्रतिको सम्मान गरी तीन प्रमुख सिद्धान्तमा आधारित बनाएको जनाएको छ।

प्रणालीमा उपलब्ध जानकारी दैनिक रूपमा अद्यावधिक हुनेछ। अभिभावकले मोबाइल एपका अतिरिक्त वेब ब्राउजरमार्फत पनि यो सुविधा प्रयोग गर्न सक्नेछन्।

कम्पनीका अनुसार नयाँ व्यवस्थाको उद्देश्य अभिभावकलाई निगरानी गर्ने साधन मात्र उपलब्ध गराउनु नभई बालबालिकासँग डिजिटल बानी, अनलाइन जोखिम र जिम्मेवार सामाजिक सञ्जाल प्रयोगका विषयमा रचनात्मक संवाद गर्न प्रोत्साहित गर्नु हो।

यसैबीच टिकटकले किशोरकिशोरीमा आत्महानिसम्बन्धी सम्भावित जोखिम पहिचान गर्न अभिभावकलाई सचेत गराउने नयाँ प्रणाली विकास गरिरहेको छ।

यसका लागि कम्पनीले अमेरिकाको बोस्टन चिल्ड्रेन्स हस्पिटलअन्तर्गतको डिजिटल वेलनेस ल्याब तथा आत्महत्या रोकथामसम्बन्धी विज्ञ डा. ड्यान रिडेनबर्गलगायतसँग सहकार्य गरिरहेको जनाएको छ।

विकासाधीन प्रणालीले किशोरकिशोरीले आत्महानिसँग सम्बन्धित पहिचान गरिएका शब्दहरू बारम्बार खोजेको अवस्थामा अभिभावकलाई सूचना दिने लक्ष्य राखेको छ। यस्तो अवस्थामा किशोरकिशोरीसँग संवेदनशील र सहयोगात्मक संवाद कसरी अघि बढाउने भन्नेबारे विज्ञहरूको सुझावसमेत उपलब्ध गराइनेछ।

उक्त प्रणाली विकासकै चरणमा रहेको र सार्वजनिक प्रयोगमा ल्याउने समयबारे कम्पनीले निश्चित विवरण दिएको छैन।

टिकटकले घरपरिवारसँगै विद्यालय र शिक्षकको भूमिका पनि डिजिटल सुरक्षाका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै ‘एजुकेटर्स गाइड’ सार्वजनिक गरेको छ।

शिक्षक तथा युवा सुरक्षा विज्ञहरूको परामर्शमा तयार पारिएको मार्गदर्शिकामा सामाजिक सञ्जालको सञ्चालन प्रक्रिया, अनलाइन सुरक्षा, डिजिटल स्वास्थ्य, जिम्मेवार प्रविधि प्रयोग र मिडिया साक्षरतासम्बन्धी शैक्षिक सामग्री समावेश छन्।

यसले शिक्षकलाई कक्षाकोठामा डिजिटल सुरक्षा र सामाजिक सञ्जालका अवसर तथा जोखिमबारे विद्यार्थीहरूसँग छलफल गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार मार्गदर्शिका तथा किशोरकिशोरीको सुरक्षासम्बन्धी थप स्रोतहरू टिकटकको सेफ्टी सेन्टरमार्फत प्राप्त गर्न सकिनेछन्। आगामी साताहरूमा शिक्षकका लागि थप शैक्षिक सामग्री उपलब्ध गराउने योजना पनि रहेको छ।

किशोरकिशोरीको अनलाइन सुरक्षा सुनिश्चित गर्न प्राविधिक नियन्त्रणसँगै अभिभावक, शिक्षक र बालबालिकाबीच नियमित संवाद तथा डिजिटल साक्षरता आवश्यक रहेको सन्दर्भमा टिकटकले नयाँ सुविधा र शैक्षिक स्रोत विस्तार गरेको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button