शेन्झाउ–२४ को टोली घोषणा, पाकिस्तानी अन्तरिक्षयात्री पहिलोपटक चिनियाँ अन्तरिक्ष अभियानमा जाने

ड्रागन मिडिया समाचार कक्ष
चीनले नोभेम्बर २५ मा प्रक्षेपण गर्ने तय भएको शेन्झाउ–२४ अन्तरिक्षयानका तीन सदस्यको नाम सार्वजनिक गरेको छ। चीनको मानवसहितको अन्तरिक्ष उडान निकायले मंगलबार घोषणा गरेको टोलीमा पाकिस्तानका मुहम्मद जीशान अली पनि छन्। यस उडानसँगै अली चीनको मानवसहितको अन्तरिक्ष अभियानमा सहभागी हुने पहिलो विदेशी अन्तरिक्षयात्री बन्नेछन्।
अन्तरिक्षयानको कमान्ड चिनियाँ अन्तरिक्षयात्री ताङ होङबोले सम्हाल्नेछन्। उनी यानका पाइलट पनि हुन्। टोलीमा उडान इन्जिनियर वु यी र पेलोड विशेषज्ञ अली छन्। चीनको तेस्रो समूहका अन्तरिक्षयात्री वु र चीन–पाकिस्तान सहकार्य सम्झौताअन्तर्गत छनोट भएका अली दुवैको यो पहिलो अन्तरिक्ष उडान हुनेछ।
ताङले यसअघि शेन्झाउ–१२ र शेन्झाउ–१७ अभियानमा भाग लिएका थिए। यसपटक तियाङगोङ अन्तरिक्ष केन्द्र पुगेपछि उनी त्यहाँ तीनपटक पुग्ने पहिलो चिनियाँ अन्तरिक्षयात्री बन्नेछन्।
अभियानको योजनाअनुसार अली तियाङगोङमा छोटो समय बसेपछि शेन्झाउ–२३ यानबाट पृथ्वी फर्कनेछन्। शेन्झाउ–२३ का चिनियाँ अन्तरिक्षयात्री झु याङझु भने केन्द्रमै बसेर शेन्झाउ–२४ को टोलीसँग काम गर्नेछन्। निर्धारित बसाइ पूरा गरेपछि झु पृथ्वीको कक्षामा लगातार एक वर्ष बिताउने पहिलो चिनियाँ अन्तरिक्षयात्री बन्नेछन्।
शेन्झाउ–२४ का तीनै सदस्यले मंगलबार चीनको गान्सु प्रान्तस्थित जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रको वेनतियान सभाकक्षमा चिनियाँ तथा विदेशी पत्रकारसँग भेट्ने कार्यक्रम छ।





