राजसंस्था अवश्यम्भावी छ: रापंका पूर्वअध्यक्ष सुवेदी

राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष एवं राजनीतिज्ञ नवराज सुवेदीले सबै राजनीतिक दलहरु समझदारीमा आएर राजसंस्था पुनर्स्थापना गर्नुपर्ने बताएका छन्। हिजो एक टेलिभिजन कार्यक्रममा उनले राजसंस्था पुनर्स्थापनाको लागि दलहरु समझदारीमा नआए संघर्ष हुने बताएका हुन्। उनले आफूहरुले मुडभेड नचाहेको र सकेसम्म दलहरु समझदारीमा आउन भन्ने अपेक्षा राखेको बताए।

राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको जनआन्दोलन संयोजन समितिका संयोजकसमेत रहेका सुवेदीले पूर्वराजा ज्ञानेन्द्रलाई दल खोल्न चुनौती दिने, दल खोलेर आइज भन्ने र राजालाई गाली गरिनु गलत रहेको उनले बताए। नेता सुवेदीले अब राजावादी र गणतन्त्र पक्षधरबीच मुडभेड हुने बताए। संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संघीयता खारेजी आफूहरुको माग रहेको र यो प्राप्ति नभएसम्म आन्दोलन निरन्तर अगाडि बढ्ने उनले बताएका छन्।

संघीयता राम्रो भएपनि यो नेपालको सन्दर्भमा चल्न नसक्ने उनको भनाइ छ। कोशी प्रदेशमा १० महिनाको बीचमा ६ पटक प्रदेश सरकार परिवर्तन भएको स्मरण गराउँदै उनले नेपालले संघीयता चलानै नसक्ने जिकिर गरे। ‘संघीयता राम्रोसँग चल्न सक्नुपर्यो नि? यत्रो वर्ष भइसक्यो, संघीयता कहाँ चलेको छ? ६ महिना, १० महिनामा ५ पटक मुख्यमन्त्री फेरिन्छ। संघीयता राम्रो भएर मात्रै भएन। त्यसलाई चलाउन सक्नुपर्यो,’– उनले भने।

आफू राजसंस्थावादी र कट्टर हिन्दु रहेको बताउँदै उनले अहिले ती दुवै कुरा मासिएको र पुनर्स्थापना हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनले सुनाए। सोही मान्यताअनुसार आफूले राजसंस्था पुनर्स्थापनाको नेतृत्व लिएको उनको भनाइ थियो।

पूर्वराजा ज्ञानेन्द्र र आफ्नो सम्बन्ध राम्रो रहेको बताउँदै उनले पछिल्लो समय ६ महिनादेखि आफूहरुको भेट नभएको सुनाए। उनले पूर्वराजा ज्ञानेन्द्र पुनः राजा बन्ने र त्यसपछि उनको उत्तराधिकारी नाती हुनेछन्, नेता सुवेदीले भनाइ थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button