निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति र संशोधित विधानको अभिलेख अद्यावधिक गर्यो

ड्रागन मिडिया सम्वाददाता
निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको २३१ सदस्यीय केन्द्रीय कार्यसमिति र संशोधित विधानको विवरण आफ्नो अभिलेखमा अद्यावधिक गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंगलबारको बैठकले कांग्रेसको निवेदनअनुसार विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो। आयोगले निर्णयबारे कांग्रेसलाई पत्रमार्फत जानकारी दिएको छ।
अद्यावधिक विवरणमा गगन थापा सभापति र विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति छन्। उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य, पुष्पा भुसाल र विनोदकुमार चौधरी छन्। प्रदीप पौडेल, उदय शम्शेर राणा र डिला संग्रौला (पन्त) महामन्त्री छन्।
सहमहामन्त्रीमा रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, प्रतिमा गौतम, बहादुरसिंह लामा (तामाङ), जीवनबहादुर शाही, मनोजमणि आचार्य, प्रकाश रसाइली र योगेन्द्र चौधरी छन्।
काठमाडौंमा असोज १८ देखि २३ गतेसम्म चलेको महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै पदाधिकारीका पद थप्ने लगायतका विधान संशोधन पारित गरेको थियो। महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा कांग्रेसले ती विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो।





