हामी हाम्रो देशलाई अरूको खेल मैदान बन्न दिने छैनौं

नेपाल आज पुनः एउटा गम्भीर मोडमा उभिएको छ। रगत, बलिदान र सपना बोकेको परिवर्तनपछि हामीले प्राप्त गरेको लोकतन्त्र, स्वतन्त्रता र संविधानमाथि नै अब प्रश्न उठ्न थालेको छ। जनताको मर्म, राष्ट्रको गरिमा र राष्ट्रिय हितभन्दा माथि सत्ताका खेल, व्यक्तिगत स्वार्थ र गुटगत चित्त बुझाइ हावी हुँदा देश दिशाविहीन बन्दै गएको छ।

सत्तारूढ गठबन्धनको नाममा बनेको आजको कार्यपालिका जनताको मत र आशाको प्रतिफल होइन, शक्ति सन्तुलनको अस्थायी समीकरण हो। संसद लिलामजस्तै भएको छ, न्यायपालिका प्रतिवादीजस्तै देखिन थालेको छ, र राष्ट्रका संवैधानिक अंगहरू मूकदर्शक बनेका छन्। यस्तो बेलामा देशप्रेमी नागरिक, युवाशक्ति र स्वतन्त्र चिन्तन गर्ने वर्गले यो पतनको मार्ग थाम्न आवाज उठाउनु राष्ट्रको धर्म हो।

पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको राजनीतिमा पुनःसक्रियता र उनको राष्ट्रवादी अभिव्यक्तिले जनताको बीचमा एक आशाको किरण फैलाएको छ। जब पार्टीभित्र नै राष्ट्रसेवकहरूलाई बहिष्कृत गरिन्छ, त्यो पार्टी केवल गुटहरूको अखडा मात्र बन्छ। भण्डारी जस्तो नेतृ जसले राष्ट्रको सर्वोच्च पद सम्हालेकी छन्, उनले पदको लोभ होइन, राष्ट्रप्रति समर्पण देखाउँदै आफ्नो कर्तव्य निर्वाह गर्ने अठोट जताउनु आजको नेपालमा प्रेरणादायी छ।

आज राष्ट्रियताको पक्षमा बोल्ने, विदेशी हस्तक्षेपको विरोध गर्ने, अनि राष्ट्रको स्वाभिमान र संस्कृतिको रक्षा गर्न उभिनेहरूलाई देशद्रोही सरह व्यवहार गरिन्छ। तर जनताको भावना बुझ्ने हो भने नेपाली अझै पनि आत्मसम्मान, सांस्कृतिक अस्मिता र सार्वभौमिकताको पक्षमा उभिएका छन्। सुदूरपश्चिमदेखि मेचीसम्म, हिमालदेखि तराईसम्म नेपाली जनताको एउटै आवाज छ “हामी हाम्रो देशलाई अरूको खेल मैदान बन्न दिने छैनौं।”

हिजो राजतन्त्रको अन्त्यका लागि सडकमै बलिदान दिएका युवा आज के हेर्दैछन्? सांसदहरूले संसदलाई बजार बनाएका छन्। विदेशी एजेन्डा बोकेर देश तोड्ने योजनाहरू खुला रूपमा चलिरहेका छन्। दलित, जनजाति, किसान, युवा, महिला सबैको आवाज सुन्ने निकाय मौन छन्। यस्तो बेला राष्ट्रप्रेम भनेको नारामा होइन, निर्णय र ब्यवहारमा देखिनुपर्छ।

अब आवश्यकता छ, राजनीतिक सुधार होइन, राजनीतिक पुनर्जागरणको। संविधानको मर्मअनुसार जनतालाई विश्वास, न्याय र सम्मान दिलाउने संरचना निर्माण हुनुपर्छ। राष्ट्रघात गर्नेहरूलाई कानुनी कारवाही हुनुपर्छ। जनतालाई विदेशी परियोजनाको प्रायोगशाला होइन, भागीदारको रूपमा समेट्ने नीतिहरू आवश्यक छन्।

हामीले २०१५ र २०४६ को नाकाबन्दीमा देखाएका आत्मनिर्भरता र साहस, भूकम्पमा देखाएको मानवताको बलिदान, अनि परिवर्तनमा देखाएको जागरण तिनलाई सम्झनु आजको आवश्यकता हो। नेपाल सानो देश हो, तर ठूलो इतिहास बोकेको राष्ट्र हो। हामी परनिर्भर छैनौं, हामीले केवल दृढ इच्छाशक्ति र सही नेतृत्वको खाँचो छ।

देशप्रेम अब भावनामा होइन, कर्ममा देखिनुपर्छ। जनताको पीडालाई साझा बनाउने नेतृत्व आवश्यक छ, न कि कुर्सी बचाउने रणनीति। यस्तो बेला राष्ट्रका लागि चुप लाग्नु पनि राष्ट्रघात हो। अब न त दल, न त पद अब चाहिएको हो नेपालको पक्षमा सशक्त, निडर, सत्यप्रेमी र देशभक्त आवाज।

नेपाली जनताले फेरि एउटा नयाँ शुरुवातको आशा गरिरहेका छन्। त्यो शुरुवात राष्ट्रको पुनर्निर्माणको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button