म ठीक, तर देश बेठीक !

# अविनाश शर्मा

विसङ्गतिले ग्रस्त नेपाली समाजमा “म ठीक तर देश बेठीक” भन्ने गलत भाष्यको निर्माण भएको दुई दशकभन्दा बढी भइसकेको छ। यो भाष्य केवल जनचेतनाको स्तरमात्रै होईन, एक सामाजिक प्रवृत्तिको रूपमा विकसित भइसकेको छ। जब नागरिक व्यक्तिगत रुपमा आफैंलाई निर्दोष देखाउने र सम्पूर्ण दोष व्यवस्थालाई—वा देशलाई नै—थोपर्ने मनोविज्ञानमा बाँधिन्छ, तब त्यो समाजमा आत्मचिन्तनको अभाव, कर्तव्य विमुखता र जिम्मेवारीबाट पलायन स्पष्ट देखिन थाल्छ। देश भन्नाले कुनै अमूर्त चीज होइन, देश हामी सबैको सामूहिक पहिचान हो। सरकार, जनता, संस्था, संस्कृति, भूगोल, इतिहास र सपना—यी सबैको संयुक्त रुप नै देश हो। यस्तो अवस्थामा “देश बेठीक” भन्नु भनेको आफूलाई नचिन्ने आत्मवञ्चना मात्र होइन, मातृभूमिप्रति गरिएको हिंसा पनि हो।

हाम्रो दैनिक जीवनमा देखिने विविध समस्याहरू—ढल फुट्ने, सडक भत्किने, लोडसेडिङ हुने, सस्तो सामग्री प्रयोग गरिने, सेवाप्रदायक निकायको अकर्मण्यता आदि—सबैको दोष हामी “देश”मा लगाएर आफ्नो जिम्मेवारीबाट चुँडिन्छौँ। जब ढल फुट्छ, हामी भन्छौं “थुक्क कस्तो देश!” जब सडकको कालोपत्रे एक वर्षमै उप्किन्छ, हामी फेरि भन्छौं “यो देशको केही हुन्न!” जब कक्षा १२ उत्तीर्ण विद्यार्थी NOC का लागि घण्टौं लाममा उभिन्छन्, हामी गुनासो गर्छौं, “कठै मेरो देश!” यिनै विद्यार्थीहरू विदेश जान विमानस्थल पुग्दा, सयौं आफन्तहरू उनीहरूलाई बिदाइ गर्न भीड लाग्दा, हामी आँखा रसाएर भन्छौं “देश रित्तिंदै छ!”

यी सबै प्रकट प्रतिक्रियाहरू भावनात्मक छन्, तर तथ्यमा आधारित छैनन्। यो देशको दोष होइन कि सडकमा घटिया सामग्री प्रयोग गरिएको छ; यो ठेकेदार, प्राविधिक र सम्बन्धित सरकारी निकायको भ्रष्टाचार, बेइमानी र लापरवाहीको दोष हो। जब सरकारी संयन्त्र निष्क्रिय हुन्छ, जब काम गर्ने व्यक्तिहरू काम नगर्ने तर तलब खाने प्रवृत्तिमा रमाउँछन्, तब व्यवस्थामा समस्याहरू आउँछन्। तर त्यसलाई सिधै देशको प्रतिष्ठासँग जोडेर “नर्कजस्तो देश” भन्नु केवल अज्ञानताको उपज मात्र होईन, आत्महीनताको उदाहरण हो।

देशलाई सराप्नु साटो हामीले जिम्मेवारी बोक्नुपर्ने हुन्छ। किन ढल फुट्यो? किन सडक उप्कियो? किन लाम लाग्नुपर्‍यो? यी प्रश्नको उत्तर व्यवस्थामा खोज्नुपर्छ, व्यवस्थाको निर्मातामा खोज्नुपर्छ—हामी जनतामा। हाम्रो मतदान, हाम्रो मौन समर्थन, हाम्रो निष्क्रियता, हाम्रो सहनशीलता र हाम्रो पलायन मानसिकताले त्यो व्यवस्था बनाएको हो। हामी आफैं जनताले दोषीलाई छानिरहेका छौं, उहीहरूसँग फेरि आशा गरिरहेका छौं र असफल भएपछि देशलाई गाली गर्दै आत्मसन्तुष्टि लिइरहेका छौं।

देश एउटा भौगोलिक क्षेत्र मात्र होइन, देश भावनात्मक, सांस्कृतिक र ऐतिहासिक अस्तित्व हो। यसलाई गाली गर्नु, अपमान गर्नु, त्यसप्रति नकारात्मकता फैलाउनु भनेको आफूप्रति घृणा गर्नु सरह हो। देशलाई दोषी ठहर्याउने तर आफैंलाई उन्मुक्त गर्ने मानसिकता यस्तो भइसकेको छ कि हामी आफ्नै कमजोरी, अल्छीपन, गैरजिम्मेवार प्रवृत्तिको आलोचना गर्न डराउँछौं। हाम्रा व्यक्तिगत कार्यशैलीमा न त जिम्मेवारी देखिन्छ, न नै राष्ट्रप्रतिको प्रतिबद्धता। कर्तव्यविमुख नागरिक र भ्रष्ट व्यवस्था मिलेर बनेको विकृत सामाजिक संरचनालाई देशले प्रतिनिधित्व गर्छ भनेर बुझ्नु मूर्खता हो।

हामी जसरी घरका भित्तामा ढुंगा हानेर आफ्नो घरमा बस्न सक्दैनौं, त्यसरी नै देशलाई गाली गरेर यहाँ गर्वपूर्वक बाँच्न सकिँदैन। देशलाई गाली गर्नु भनेको आफ्नो आमालाई सराप्नु जस्तै हो। जन्मदात्री आमालाई दोष दिँदै हुर्किएको सन्तान कहिल्यै सन्तुलित मनोवृत्तिको हुन सक्दैन। आमाले दिएको सीमित स्रोत, अवस्थाले बनाएको संरचना, त्यही भित्रको संघर्ष र यात्रा—यी सबै स्वीकार गर्दै परिवर्तनको पहल गर्न सकिन्छ। तर जब “थुक्क कस्तो देश!” भन्ने वाक्यांश हामीले सामान्य बनाइदिन्छौं, तब हामी आफैं नकारात्मकताको स्रोत बनिरहेका हुन्छौं।

देशका समस्या समाधानको लागि गाली होइन, समर्पण आवश्यक छ। एक असल नागरिक बन्ने प्रयास, व्यक्तिगत स्तरमा इमानदारी र कर्तव्यपरायणता, सामाजिक उत्तरदायित्वको अभ्यास, सार्वजनिक सम्पत्तिको संरक्षण, र शिक्षित भएर सचेत नागरिक उत्पादन गर्ने जस्तो क्रियाकलाप देशलाई बनाउने शक्ति हुन्। तर जब हामी सानो कामको जिम्मेवारी नलिईकन ठूला कुरा गर्छौं, तब त्यो भाष्य केवल निराशा फैलाउने माध्यम बन्न जान्छ।

हामीले बुझ्नुपर्ने सत्य के हो भने सरकार, व्यवस्था, संरचना—यी सबै हामीबाटै बनेका हुन्। देश भन्नाले कुनै अज्ञात शक्ति होइन जसले सबै बिगारिरहेको छ। देशमा सुधार ल्याउन, सडक सुधार गर्न, शुद्ध ढल बनाउने, NOC प्रणाली सुधार गर्ने, यस्ता सबै कामका लागि नागरिक सचेतता, माग र दबाब जरुरी हुन्छ। जबसम्म नागरिक मौन रहन्छ, तबसम्म सुधार केवल स्वप्न मात्र रहन्छ।

देशलाई गाली गर्नु साटो हामी आफैंले आफैंलाई प्रश्न गर्नुपर्छ—के म देशको लागि आफ्नो भूमिका निभाइरहेको छु? के म निष्ठावान नागरिकको भूमिका निर्वाह गरिरहेको छु? के म सार्वजनिक स्रोतको सदुपयोग गरिरहेको छु? के म भ्रष्ट्राचारविरुद्ध बोलिरहेको छु? यदि उत्तर छैन भने देशलाई दोष दिने हक हामीसँग छैन।

कहिलेकाहीँ हामी चुपचाप सहेर बस्नु देशभक्तिको संकेत ठान्छौं। तर सहेर बस्नु र सहिष्णु हुनु फरक कुरा हो। जब सत्ताको अकर्मण्यता हावी हुन्छ, जब सार्वजनिक सेवा अस्तव्यस्त हुन्छ, जब शिक्षाका ढोका पैसाविना बन्द हुन्छन्, जब न्याय केवल शक्तिशालीको पहुँचमा सीमित हुन्छ, त्यतिबेला चुपचाप बस्नु देशप्रेम होइन—अपराध हो। तर त्यो विरोध देशप्रति होइन, व्यवस्थाप्रति हुनुपर्छ। हामीले चिन्नुपर्छ कि दोषी व्यक्ति हुन्, संस्था हुन्, प्रवृत्ति हुन्—देश होइन।

देशलाई माया गर्नु भनेको त्यसलाई बुझ्नु हो, त्यसका पीडाहरूको सामना गर्नु हो, र परिवर्तनका लागि आफू सक्रिय हुनु हो। आँखा चिम्लेर वा भावनामा बहकिएर देशलाई दोष दिनु, देशप्रति असत्य भाष्य फैलाउनु भनेको आफ्नै पहिचानमाथि आँच पुर्‍याउनु हो। आखिर देश हामी हौं—हामी नै देश हौं। जब हामी आफैंले सुधारको बाटो समाउँछौं, तब देश स्वतः ठीक हुन थाल्छ।

अन्ततः प्रश्न उठ्छ—किन आमालाई रुवाइरहेका छौं? किन आफ्नै देशप्रति यस्तो असंवेदनशील हुँदै गएका छौं? कि अब समय आएको छ—देशलाई गाली गर्ने होइन, देशका लागि काम गर्ने, बदलिने, बदलाउने र भविष्य निर्माण गर्ने? यदि हामी आफैं ठीक भयौं भने देश आफैं ठीक हुनेछ। समस्या देश होइन—हामी हौं। समाधान पनि हामीमै छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button