एमाले भित्रको सत्ता संघर्ष, भित्रि षड्यन्त्र र बिधा भण्डारीको पुनरागमन

# लक्की चन्द 

नेपालको वर्तमान राजनीतिमा एमाले एक पटक फेरि घमासान संघर्षको केन्द्रमा उभिएको छ। पछिल्लो समय बिधादेवी भण्डारीको राजनीतिक पुनरागमनको संकेतले मात्र पनि एमालेको भित्रि शक्ति समीकरण तहसनहस बनाएको छ। नेतृत्वमा आउने संकेत दिएका भण्डारीले अचानक केपी ओलीको पक्षमा उभिएपछि, पार्टी भित्र एक किसिमको मनोवैज्ञानिक र रणनीतिक भूकम्प आएको हो। अझ अचम्म त तब लाग्यो जब ओली नेतृत्वको आलोचना गर्दै ‘तपाईंले नेतृत्व लिनु पर्छ’ भन्ने बिष्णु पौडेल नै अचानक ओलीको पक्षमा उभिए, र बिधा भण्डारीप्रति मौन बसे। नजिकका विश्वस्तहरू भन्छन्, “बिधा भण्डारी आफै अचम्ममा परेकी छन्—पौडेल यस्तो पल्टिएला भन्ने उनलाई पनि थाहा थिएन।”

बिष्णु पौडेलको राजनीतिक इतिहास हेर्दा उनी कुनै समय ‘भविष्यका प्रधानमन्त्री’का रुपमा हेरिन्थे। तर उनको नाम बुटवल सुकुम्बासी जग्गा घोटाला, बालुवाटारको ललिता निवास प्रकरण लगायत थुप्रै विवादमा जोडिएको छ। बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजान सरकारी शक्तिको दुरुपयोग भएको मुद्दामा उनको नाम प्रमुख रुपमा आएको थियो। यस्ता प्रकरणले उनी माथि ‘शुद्ध राष्ट्रसेवक’ बन्ने नैतिक दाबी कमजोर बनाइदिएको छ। यस्तै एक उखान निकै प्रचलित छ—“१० पाल्पाली बराबर १ स्याङ्जाली, १० स्याङ्जाली बराबर १ झापाली, १०० झापाली बराबर १ केपी ओली।” यो उखान महाकाली सन्धि २०५३ ताका निकै चर्चामा थियो, जसले राजनीतिक चातुर्य र षड्यन्त्रको गहिरो सन्देश दिन्छ।

यसरी हेर्दा स्याङ्जा, झापा, पाल्पा जस्ता जिल्लाबाट आएका नेताहरूको राजनीतिक कुटिलता अब केवल जनश्रुति होइन, ऐतिहासिक रूपमै स्थापित व्यवहारको रुप लिइसकेको देखिन्छ। त्यसैले यी नेताहरूको हर्कत जनताका लागि अनौठो होइन, तर दुखद अवश्य हो।

बिधा भण्डारीको राजनीतिक यात्रा असाधारण रह्यो। एमालेको उपाध्यक्ष हुँदै राष्ट्रपति बन्ने उनको यात्रा संघर्षपूर्ण मात्र होइन, रणनीतिक पनि थियो। तर, उनको राष्ट्रपतिका रूपमा दुई कार्यकाल सकिएपछि राजनीतिबाट टाढा बस्ने अपेक्षा गरिएको थियो। तर पछिल्लो समय बिष्णु पौडेलले “हामीलाई अन्तर्राष्ट्रिय समुदायले पत्याउँदैन, तपाईं नेतृत्व लिनुपर्छ” भन्दै आग्रह गरेपछि राजनीतिक हलचल तीव्र भएको हो। तर पौडेलको दुईमुखे प्रवृत्तिले बिधा भण्डारी मात्रै होइन, एमालेका पुराना नेता तथा कार्यकर्ताहरूमा पनि आश्चर्य र आक्रोश पैदा भएको छ।

यो अवस्थामा फेरि पुरानै चरित्रहरू सशक्त भएर उत्रिएपछि एमालेभित्र वैचारिक शुद्धताको कुरा उठाउनु व्यर्थ देखिन्छ। ओली वरिपरि जुटेका पात्रहरू—जसलाई ‘अवसरवादी, बदनाम र सिद्धान्तहीन’ भनेर एमाले कार्यकर्ताहरू नै आलोचना गर्छन्—पार्टीको मूल नेतृत्व सँगसँगै देशको नीति निर्धारणमा पनि निर्णायक बन्न थालेका छन्। सूचनाको युगमा यस्ता कुरा लुक्ने अवस्था पनि छैन।

बुटवल निर्वाचनको प्रसंग उदाहरणीय छ। राप्रपाको मत लिएर गठबन्धन गरेर पनि जब चुनाव जित्न सकिएन, मतगणना १८ घण्टा स्थगित गरियो। रा.स्व.पा. का उम्मेदवारहरूले धाँधलीको आरोपसहित मुद्दा हाले, तर अदालती निर्णय पौडेलकै पक्षमा आयो। लोकतन्त्रको रक्षा गर्छु भनेर चुनाव जितेका नेताले जब बिधा भण्डारीलाई रोक्ने कुरा गर्छन् र आफूले गणतन्त्र जोगाएको दाबी गर्छन्, त्यहाँ चरम पाखण्ड प्रकट हुन्छ।

“जुनसुकै तरिकाले सत्तामा पुग्न पाएपछि नैतिकता बिर्सने प्रवृत्ति नेपालका नेताहरूमा गडेर बसेको छ।” – यो कुनै राजनीतिक विश्लेषकको भनाइ होइन, यथार्थको गहिरो व्याख्या हो।

गणतन्त्र नेपालको प्राप्ति कुनै संयोग थिएन। राजतन्त्र अन्त्य हुनुका दुई मुख्य कारण थिए—बेबिकिङ राजा ज्ञानेन्द्रको निरंकुशता र राजा बिरेन्द्र हत्यापछि उठेको शंका। बिष्णु पौडेलजस्ता पात्रहरूले भने आज गणतन्त्रको उपलब्धिलाई पनि आफ्नै स्वार्थअनुकूल व्याख्या गर्न थालेका छन्। प्रधानमन्त्री केपी ओलीले त गणतन्त्र र अमेरिकाको गाडी चढेर जानुलाई तुलना गर्दै “गणतन्त्र आयो कि गाढी चढेर अमेरिका पुगियो?” भनेर दिएको पुरानो अन्तरवार्ता अहिले पनि चर्चित छ। तर यो कुरा इतिहासले ठाडै खण्डन गर्छ। कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आएको आन्दोलन र अन्तर्राष्ट्रिय समर्थन बिना गणतन्त्र सम्भव थिएन।

हाल देखिने राजनीतिक दलहरुको सहकार्य र असहकार्यमा केवल देशी स्वार्थ होइन, विदेशी भूराजनीति पनि जोडिएको छ। राजेन्द्र लिङ्देन, कमल थापा, केपी ओली र बिष्णु पौडेलबीच कुनै तात्त्विक भिन्नता छैन। यिनीहरू एउटै शक्तिकेन्द्रबाट निर्देशित भई विभिन्न भूमिकामा अभिनय गरिरहेका छन्। निर्वाचनमा सहकार्य पनि त्यही निर्देशमा गरिएको हो। आजका गणतन्त्रवादी र नवसंविधानवादि नेताहरू देख्नमा फरक भए पनि, प्रायः एउटै धागोबाट बुनेका पात्रहरू हुन्।

मदन भण्डारी हत्या प्रकरण, राजा विरेन्द्रको हत्या र पछि देखिएको अमेरिकी तथा भारतीय कूटनीतिक चलखेलको गम्भीर समिकरण आजको नेपाली राजनीतिक ढाँचा र नेताहरूको व्यवहारमा झल्किन्छ।

नेपाली समाजमा एउटा उखान चलनचल्तीमा छ—“धुर्तको मुटु हुन्छ, तर आत्मा हुँदैन।” यिनै धुर्तहरूको जमातले आज पार्टी, संविधान, मुलुक र जनताको भविष्यलाई उपहास बनाएका छन्। एमालेजस्ता पार्टीहरू भित्रैबाट गिजोलिइरहेका छन्। ओली नेतृत्वको वरिपरि यस्ता अनुशासनहीन, भ्रष्ट र षड्यन्त्रकारी पात्रहरूको जमात देख्दा, पुराना आदर्शवादी कम्युनिष्ट नेताहरूको सम्झना आउँछ, जसले तिनका सपना रगत, पसिना र सिद्धान्तले सिँचिएको थियो।

अझ अर्को जनउक्ति उल्लेखनीय छ—“काग कराउँछ, पिना बगाउँछ, स्याल बोलाउँछ, छटपटाउँछ।” अहिले एमालेभित्र भइरहेका घटनाक्रम यही उखानको जिवन्त उदाहरण बनेका छन्। पार्टीको सिद्धान्त र जनप्रतिनिधित्वको मूल्यलाई पन्छ्याएर, केवल सत्ताको स्वार्थमा खेलेका पात्रहरू यस्तै काग र स्याल हुन्, जसले न देशको हित सोच्छ, न जनताको भरोसा राख्छ।

अन्ततः यो लडाइँ साधारण हैन, भूराजनीतिक सञ्जाल भित्रको गहिरो लडाइँ हो। शक्ति, पद र विदेशी आशीर्वादको खेलमा अब मुलुकको अस्तित्व नै संकटमा परेको छ। अबको आवश्यकता भनेको आत्ममूल्यांकन र जनचेतनाको पुनरजागरण हो। नत्र, यस्ता पात्रहरूले फेरि पनि बिधा भण्डारीजस्ता नेताहरूलाई प्रयोग गरेर फाल्ने अनि जनतालाई धोका दिने क्रम निरन्तर चलिरहनेछ।

जनताले थाहा पाउन थालेका छन्—तर बुझेर मात्र पुग्दैन, बोल्न पनि थाल्नुपर्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button