मलेसियामा सम्पन्न दौडमा नेपालका दुई धाविकाद्वारा पहिलो र तेस्रो स्थान

­

नेपालकी धाविका प्रिया राई एसियन ट्रेल मास्टर च्याम्पियन बन्नु भएको छ। प्रतियोगितामा गत वर्षकी च्याम्पियन रसिला तामाङ तेस्रो बन्नु भएको छ। गएको शनिबार बिहान मलेसियाको साबा प्रान्तस्थित लिङ्कुबाङबाट सुरु भई पेर्काबामा समाप्त भएको प्रमुख उपाधि दौडअन्तर्गत निर्धारित ७८ किलोमिटरको दूरी प्रियाले ११ घण्टा १३ सेकेन्डमा पूरा गरी च्याम्पियन बन्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

त्यसैगरी बेल्जियमकी सिङ्गापुर बासिन्दा भन्या सिनोप्स र नेपालकी रसिला तामाङले क्रमशः १२ घण्टा ३६ मिनेट ८ सेकेन्ड र १३ घन्टा १३ मिनेट ३९ सेकेन्डमा पूरा गरी दोस्रो र तेस्रो बन्नुभयो। सन्‌ २०१४ बाट सुरु भएको दौडको यो नवौँ संस्करण हो। दौडमा नेपालले गतवर्ष र यो वर्ष महिलातर्फ ब्याक टु ब्याक जित निकालेको छ।

यसका साथै, पुरुषतर्फ क्यानाडाका हङकङ बासिन्दा जेफ्री क्याम्पबेल, जापानका हिसासी कितामुरा र फिलिपिन्सका आर्नी म्याकानेरास क्रमश: पहिलो, दोस्रो र तेस्रो बन्नुभयो। उपाधि जित्ने आशा गरिएका नेपालका धावक अर्जुन कुलुङ राई भने कैयौँ किलोमिटर बाटो बिराउन पुग्दा टप टेनमा सीमित हुनु भएको छ। दौडका क्रममा कतिपय सहभागी अफ रुट हुँदा जित्ने मौका गुमाउन पुग्छन्‌।

विजेता प्रियाले उक्त प्रतियोगिताको निम्ति दुई महिनाको तयारी गरेको बताउनुभयो। मलेसिया गर्मी देश भएकाले उक्त मौसममा ‘फिट’ हुन गर्मीका दिनमा अभ्यास गर्ने गरेको उहाँले कुराकानीमा बताउनुभयो। जुन अभ्यासले जित निकाल्न सम्भव भएको उहाँ बताउनुहुन्छ।

यसैगरी टिम इभेन्टमा पनि टिम नेपाल च्याम्पियन बनेको छ। टिममा हङकङका धावक दिनानाथ बगाले समेत सामेल हुनुहुन्थ्यो।

गतवर्ष मात्र राष्ट्रिय खेलकुद परिषद्‌ले मान्यता दिएको नेपाल एडभेन्चर रनिङ महासंघको मातहतमा महिला/पुरुष गरी ९ धावक-धाविका, प्रमुख प्रशिक्षक पूर्ण तामाङ, दुई अफिसियल्स समेत कुल १२ जना र हङकङबाट दिनानाथ बगाले उक्त टिममा सहभागी थिए।

यो भन्दा अगाडिका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन कुनै व्यक्ति वा संस्थाको सहयोगमा नेपाली रनरहरू विभिन्न देशमा पुग्ने गर्थे।

पहिलो पटक अफिसियल प्रशिक्षकको भूमिकामा मलेसिया पुग्नुभयो। चुनौतीहरू कत्तिको सामना गर्नुभयो? अनुभव कस्तो रह्यो? भन्ने प्रश्नमा पूर्वएलिट धावक समेत रहेका प्रशिक्षक पूर्ण तामाङले भन्नुभयो, ‘पहिलो पटक भएकोले अवश्य केही चुनौती र मानसिक दबाब रह्यो। पहिला धावक हुँदा कसरी दौड जित्ने भन्ने एक मात्र ध्येय हुन्थ्यो। तर प्रशिक्षक भएपछि खेलाडीहरूलाई आत्मबल दिनु, अन्य व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण रह्यो।’

हारको नैतिक जिम्मेवारी पनि प्रशिक्षकले नै लिनुपर्ने भएकाले व्यवस्थापकीय जिम्मेवारी निकै चुनौतीपूर्ण रहने उहाँ बताउनुहुन्छ। यद्यपि आफूहरूले आफ्नो लक्ष्य पूरा गरेको उहाँको दाबी छ। प्रशिक्षक तामाङ थप्नुहुन्छ, ‘खासमा महासंघको केही महिनाको तयारीले मात्र यति ठूलो अन्तर्राष्ट्रिय जित निकाल्नु चानचुने कुरा होइन।’

यस प्रतियोगितामा भाग लिन सोही वर्षभित्र कम्तीमा दुईवटा दौडमा राम्रो नतिजा ल्याउनेहरूले मात्र प्रवेश पाउँछन्।

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button