विश्वमा सयौँ वर्षयता नभेटिएको परिवर्तन परिस्थिति

# मुना चन्द
सन २०१७ को अन्त्यतिर चीनका राष्ट्रपति सी चिनफिङले विश्वव्यापी राजनीतिमा एउटा महत्वपूर्ण अवधारणा प्रस्तुत गरे “सयौँ वर्षयता नभेटिएको परिवर्तन परिस्थिति”। यो अभिव्यक्तिले वर्तमान युगलाई एक ऐतिहासिक मोडका रूपमा चित्रण गर्दछ, जसले विश्व शक्तिसन्तुलन, प्रविधि, विकास मोडेल र अन्तर्राष्ट्रिय व्यवस्थामा गहिरो पुनर्संरचना ल्याइरहेको छ। यस्तो परिवर्तन न त एकपटकमा आएको हो, न त सहज रूपमा बुझ्न सकिने प्रकारको हो। यस लेखमा सो अवधारणालाई आर्थिक शक्ति सन्तुलन, प्रविधि क्रान्ति र अन्तर्राष्ट्रिय सुशासनका आधारमा विश्लेषण गरिएको छ।
औद्योगिक क्रान्तिपछि विश्व शक्तिको केन्द्र युरोप र पछि अमेरिकामा सरेको थियो। १८औं र १९औं शताब्दीमा बेलायत, फ्रान्स, जर्मनी, र अमेरिकाले हजारौँ उद्योग सञ्चालन गरी पूँजी निर्माण गरे। औद्योगिकरणको सो क्रममा उनीहरूले उपनिवेशीकरणमार्फत स्रोतको एकतर्फी उपयोग गरे। त्यो परिवर्तन एक शताब्दीभन्दा बढी लामो प्रक्रियामा विकसित भयो। तर अहिले, विकासोन्मुख देशहरूले निकै छोटो समयमै तीव्र प्रगति गरिरहेका छन्। उदाहरणका लागि, भारतले १९८० पछि खोलिएको आईटी क्षेत्रमार्फत सन २०२० सम्ममा २०० अर्ब अमेरिकी डलर बराबरको सफ्टवेयर निर्यात बजार निर्माण गरिसकेको छ। इन्टरनेट नभएको अवस्थाबाट आज विश्वका ठूला सफ्टवेयर सेवा प्रदायक देशहरूमध्ये भारत अग्रपंक्तिमा पुगेको छ। उता चीनले सन २००५ तिर एआई क्षेत्रमा प्रवेश गरेपछि केही वर्षमै आफूलाई विश्वको अग्रणी अनुसन्धानकर्ता राष्ट्रका रूपमा उभ्याएको छ। चिनियाँ कम्पनीहरू जस्तै Baidu, Alibaba, र Tencent ले विश्वभर प्रतिस्पर्धा गर्दै आएका छन्। यी तथ्यहरूले देखाउँछन् कि विकासोन्मुख मुलुकहरूको प्रगति अब दीर्घकालीन होइन, अत्यन्त तीव्र भएको छ जुन शताब्दीको होइन, दशकको कुरा बनेको छ।
मानव सभ्यतामा ठूला प्रविधिक परिवर्तनहरूले सधैं शक्ति सन्तुलनमा परिवर्तन ल्याएका छन्। पहिलो औद्योगिक क्रान्तिले वाष्प इञ्जिन र मेकानिकल उत्पादन ल्यायो; दोस्रोले विद्युतीय प्रविधि र विशाल उद्योगलाई जन्म दियो; तेस्रोले डिजिटल युग सुरु गर्यो। अहिले संसार चौधौँ प्रविधिक क्रान्तिको चरणमा प्रवेश गरिसकेको छ, जसमा कृत्रिम बुद्धिमत्ता, क्वान्टम प्रविधि, जैवप्रविधि, र हरित ऊर्जा प्रवाहका प्रमुख स्रोत बनेका छन्। आजका केही विशिष्ट प्रविधिहरू — जस्तै ChatGPT, AlphaGo, SenseTime ले शिक्षा, स्वास्थ्य, प्रशासन सबै क्षेत्रमा रूपान्तरण ल्याइरहेका छन्। चीनले सन् २०१७ मा पहिलो क्वान्टम स्याटेलाइट Micius सफलतापूर्वक परीक्षण गरिसकेको छ। सौर्य प्यानल, पवन ऊर्जा र हाइड्रोजन प्रविधिमा चीन विश्वको सबैभन्दा ठूलो उत्पादक बनेको छ। यी सबै प्रविधिहरूले मानव सभ्यता मात्र होइन, अन्तर्राष्ट्रिय राजनीतिको स्वरूप परिवर्तन गरिरहेका छन्।
वर्तमान अन्तर्राष्ट्रिय सुशासन प्रणाली पनि संकटमा रहेको छ। दोस्रो विश्वयुद्धपछि स्थापित संस्थाहरू संयुक्त राष्ट्रसंघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष पश्चिमी शक्तिहरूद्वारा नियन्त्रित रहे। तर अहिले विश्व बहुध्रुवीय बन्दैछ। ब्रिक्स राष्ट्रहरूको उदय, नयाँ विकास बैंकको स्थापना, चीनको बेल्ट एन्ड रोड इनिसिएटिभजस्ता साझेदारीले शक्ति सन्तुलन नयाँ दिशामा मोडिरहेको छ। विकासोन्मुख राष्ट्रहरूले सुरक्षा परिषद् लगायतका संस्थाहरूमा सुधारको माग गरिरहेका छन्। यसले देखाउँछ कि पुराना संरचनाहरू नयाँ आवश्यकताअनुसार काम गर्न सक्दैनन् भन्ने भावना विश्वव्यापी रूपमा फैलँदै गएको छ।
यस्तो परिवर्तित विश्वमा चीनले आफ्नो विशिष्ट मोडेल प्रस्ताव गरिरहेको छ। “चीनीया विशेषतायुक्त समाजवादी आधुनिकीकरण” भनिने यस मोडेलमा राज्यको सक्रिय भूमिका, दीर्घकालीन योजनाबद्धता र साझेदारी कूटनीतिमा बल दिइन्छ। चीनले निजी क्षेत्रलाई निर्देशित गर्दै रणनीतिक ढंगले प्रविधि, पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रमा तीव्र विकास गरेको छ। पाँचवर्षीय योजनामार्फत दीर्घकालीन दृष्टिकोण तय गरिन्छ। साथै, बेल्ट एन्ड रोड इनिसिएटिभजस्ता पहलमार्फत अन्य विकासोन्मुख राष्ट्रहरूसँग साझेदारीको वातावरण निर्माण गरिएको छ।
यी सबै पक्षहरूले स्पष्ट पार्छ कि राष्ट्रपति सी चिनफिङद्वारा प्रस्तुत “सयौँ वर्षयता नभेटिएको परिवर्तन परिस्थिति” भन्ने अवधारणा केवल राजनीतिक नारा होइन, एक ऐतिहासिक सत्यको संकेत हो। विश्व बहुध्रुवीय बन्दैछ, प्रविधिमा क्रान्ति भइरहेको छ, र विकासोन्मुख मुलुकहरू अब केवल अनुकरण होइन, नेतृत्वको भूमिकामा प्रवेश गर्दै छन्। यस सन्दर्भमा चीनले प्रस्तुत गरेको मोडेलले विश्वलाई नयाँ वैकल्पिक मार्ग देखाइरहेको छ, जसको दीर्घकालीन प्रभाव अझ गहिरो अध्ययनको विषय बन्नेछ।