यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा ८ छावा जन्मिदै

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा ८ वटा छावा (हात्तीको बच्चा) थपिने भएका छन्। यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन्भने छ वटा जन्मिने क्रममा रहेका राष्ट्रिय समाचार समितिले लेखेको छ।

तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार गएको जेठ १२ गते कर्णालीकलीले भाले र जेठ १६ गते हिमालीकलीले पोथी छावा जन्माएका हुन्। यही असोजभित्रमा देवीकली, तीर्थमानकली र रिमझिमकलीले बच्चा जन्माउने उहाँले बताउनुभयो।

उहाँका अनुसार यसै वर्षभित्र तमोरकली, लोकतन्त्रकली र चितवनकलीले बच्चा जन्माउँदै छन्। प्रमुख चौधरीले भन्नुभयो, ‘एक–दुई महिना तलमाथि होला तर यसै वर्षमा आठ छावा थपिँदै छन्।’ यसअघि विसं २०८० सालमा दुईवटा छावा जन्मिएका थिए। गण्डकीकली र प्रवेशकलीले छावा जन्माएका हुन्।

२०७९ मा ६ छावा जन्माएका थिए। बच्चा जन्मिएको दुई महिनापछि नै हात्ती पुनःगर्भवती हुन योग्य हुने जनाइएको छ। उहाँका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ। अधिकांश छावा जङ्गली हात्ती रोनाल्डो, गोविन्दे, धु्रवे र मकुनाका हुन्।

खोरसोर क्षेत्रमा अहिले पनि गोविन्दे र मकुना दैनिक आउने गरेको उहाँले जानकारी दिनुभयो। जन्मिएको तीन वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिन्छ। चौधरीका अनुसार प्रजनन केन्द्रमा हाल ११ माउ र १० छावा छन्। विसं २०४४ देखि सुरु भएको हो। विसं २०५४ देखि बच्चा जन्मिन थालेका थिए।

हालसम्म ६७ बच्चा जन्मिएका राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रले जनाएको छ। यहाँ जन्मिएका छावालाई तालिम दिएर निकुञ्जका विभिन्न पोष्टमा सुरक्षार्थ परिचालन गर्ने गरिन्छ।

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button