ग्रीन हाउसभित्र फैलिदै चीनको कृषि प्रविधि

नेपाली एक समूह यतिबेला चीनको हपेइ प्रान्तको पाउतिङमा कृषि अनुसन्धान कार्यमा व्यस्त रहेको छ। कृषिमा आधुनिक प्रविधिको प्रयोग कसरी भइरहेको छ भनेर नेपाली प्रतिनिधि मण्डलले चीनको हुपेइ प्रान्तबाट राम्रो अनुभव र ज्ञान लिन सक्ने सहभागीहरुले बताएका आजको खबर अनलाइनले लेखेको छ।

चीनको राजधानी बेइजिङलाई वरिपरि घेरा लगाएको हपेइ प्रान्तको सबै सहर, जिल्ला र काउन्टीमा प्रविधियुक्त आधुनिक खेतीले विश्वको ध्यान तानिरहेको छ। हपेई एग्रिकल्चर युनिभर्सिटीका एशोसियट प्रोफेसर ली छियाङको भनाइअनुसार प्रविधिको उच्चतम प्रयोगले चीन कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यमा रहेको छ। चीन सरकारको आर्थिक सहयोग र हपेइ एग्रिकल्चर युनिभर्सिटीको प्राविधिक सहयोगमा हपेइ प्रान्तलाई कृषिको ‘हब’ बनाउने योजना रहेको छ। ‘हामी प्रविधिको प्रयोग गरेर कृषिलाई नयाँ युगमा लैजान चाहन्छौ’ एशोसियट प्रोफेसर ‘ली’ले बताउनुभयो।
अहिले चीन विश्वको पाँचौ ठूलो कृषिजन्य वस्तु उत्पादन गर्ने देश हो। ‘काउपैतिआन’ सिटीमा रहेको भिन्दु एग्रिकल्चर फार्मले यही तथ्यलाई पुष्टि गर्दछ। यो एग्रिकल्चर फर्ममा प्रविधिको उच्चतम प्रयोग गरेर आधुनिक खेती गरिएको छ। करिब एक दर्जनभन्दा धेरै ग्रीन हाउसमा  खेती गरिएको यो फार्म एउटा विश्वविद्यालय जस्तै छ। हरियो साग, गोलभेडा, भण्टा, खोर्सानी, वाटरमिलन, सेतो आलु, काउली, बन्दा, चेरी, स्ट्रबेरी लगायतका तरकारी खेती गरिरहेको यो फार्म घुम्नलाई पनि सफारी गाडी चढ्नु पर्दछ। हपेइ एग्रिकल्चर युनिभर्सिटीकी प्रोफेसर निई लन्चुन भन्नुहुन्छ- ‘यो फार्म काउपैतिआन सिटीको एक व्यवस्थित खेती प्रणाली भएको स्थल हो। यो कषि फार्म मात्र हैन। कृषि सिकाइ थलो पनि हो।’ त्यसो त काउपैतिआन सिटीमै रहेको ‘नेसनल एग्रिकल्चर प्रोडक्ट ट्रान्जिट एण्ड डिस्ट्रीबुसन’ कम्पनी आफैँमा एक कृषिको व्यापारिक केन्द्र हो। विभिन्न ठाउँका फार्म र किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको संकलन, प्रशोधन र वितरण गर्दै आएको यो कम्पनीको बेइजिङ र हपेइका सम्पूर्ण जनतालाई एक हप्तासम्म तरकारी, फलफूल र मासु उपलब्ध गराउन सक्ने क्षमता रहेको प्रोफेसर लन्चुनले बताउनुभयो। यो कम्पनीले आफ्नो विषयमा जानकारी दिन थ्रिडी प्रविधिको प्रयोग गरिरहेको छ।
हुबेई प्रान्तको कुआन काउन्टीमा समुदायस्तरबाट चलाएको अर्को कृषि फार्म रहेको छ। कुआन सुनछाइ भेजिटेबल कोअपरेटिभले पनि दैनिक ६ हजार किलो तरकारी र फलफूल बिक्री गर्दै आएको छ।

राजधानी बेइजिङको नजिकै रहेको यो कृषि फर्मलाई चीन सरकारले राष्ट्रिय कृषि विज्ञान र प्रविधि क्षेत्रका रुपमा सञ्चालन गरिरहेको छ। यहाँबाट कृषि उत्पादन गरी सफा गर्ने, प्याकेजिङ गर्ने र बिक्री गर्ने कार्य गरिरहेको अर्का प्रोफेसर ली छिङयुनले बताउनुभयो। मेसिनको प्रयोग गरेर ग्रीन हाउस, भेजिटेबल सुपरमार्केट र टनेल सञ्चालन गरिरहेको यो कोअपरेटिभलाई हपेइ प्रान्तको मुख्य क्षेत्रको रुपमा विकास गरिरहेको प्राफेसर छिङयुनले बताउनुभयो।

कृषि उत्पादनलाई बढाउन र गणस्तरीय उपज उत्पादन गर्नका लागि हपेइ प्रान्त ग्रीन हाउसमय भएको छ। हरेक कृषि फार्ममा सुविधायुक्त र वातावरण अनुकुलित ग्रीन हाउस सञ्चालनमा रहेको छ। चीनको गर्मी र अत्यधिक चिसो हुने स्थानमा पनि बर्षभरि नै तरकारी, फलफूल र अन्य कृषिउपज उत्पादन गर्नका लागि सोलर सिस्टम ग्रीन हाउस, ग्लास ग्रीन हाउस, प्लाष्टिक ग्रीन हाउस र प्लाष्टिक टनेलको प्रयोग भइरहेको छ। हपेइ प्रान्तकै सबैभन्दा ठुलो सोलर सिस्टमको ग्रीन हाउस ‘हाउचोङ’ टाउनमा निर्माण भएको छ। नेदरल्याण्डबाट ल्याएको प्राविधिबाट सञ्चालनमा ल्याएको यो ग्रीन हाउस ११५ वर्ग मिटरमा फैलिएको छ। चीन सरकारको  ८ करोड चिनयाँ युआन खर्चमा हपेइ एग्रिकल्चर युनिभर्सिटीका प्रोफेसर ची छियाङ र एशोसियट प्रोफेसर शान कुइलिनको नेतृत्वको प्रविधि टोलीले बनाएको यो ग्रीन हाउसलाई गोलभेडा उत्पादन र अनुसन्धानको केन्द्र बनाउने योजना रहेको छ। प्रोफेसर ची भन्नुहुन्छ- ‘यो सोलार सिस्टमको ग्रीन हाउस मेसिनको सहयोगले तापक्रम नियन्त्रण गर्ने, पानी र मलको प्रयोग गरी उत्पादन बृद्धि गर्ने योजना छ।’ यो ग्रीन हाउसमार्फत ‘हाउचोङ’ टाउनमा बस्ने करिब दुई लाख ५० हजार मानिसलाई तरकारी पुऱ्याउने योजना रहेको उहाँले बताउनुभयो।
त्यस्तै तिङसिङ काउन्टीको तरकारी तथा फूल उत्पादन एग्रिकल्चर पार्क, सिङयून जिल्लाको ‘सिङयून शुइरन च्याह आधुनिक एग्रिकल्चर पार्क, छियोकनको काइयु एग्रिकल्चर पार्कको माटो विनाको खेती, लाइयुन काउन्टीको छाइवेइ गार्डेन, तानछिन काउन्टीको सिलेन्डा सिड कम्पनीको फार्म हाउसलगायतका क्षेत्रका ग्रीन हाउसहरु उच्च प्रविधियुक्त रहेको छ। ती ग्रीन हाउसमा हाइड्रोलिक प्रविधि, माटोको प्रयोग नगरी खेती प्रणाली, डिजिटल प्रविधिबाट पानीको प्रयोग, डिजिटल प्रविधिबाट वातावरण अनुकुलन प्रणाली, विऊविजन उत्पादन प्रणाली, ग्राफ्टिङ विरुवा उत्पादन र तरकारी, फलफूल र फूलको खेती गर्ने कार्य भइरहेको छ। प्राविधिको प्रयोग गर्दा विरुवालाई आवश्यक पर्ने जति मात्रै मल, विऊ, पानी र अन्य पोषण पुग्छ। जसले गर्दा गणस्तरीय र धेरै उत्पादन गर्न सकिने प्रोफेसर काव हाङपोले बताउनुभयो। ग्रीन हाउस र त्यहाँ प्रयोग भएको प्रविधि अत्यन्तै महंगो छ। तर पनि चीनमा ग्रीन हाउस लोकप्रिय बन्दैछ। प्रोफेसर लु कुइयुनका अनुसार बजार विस्तार सँगै तरकारी, फलफूलको माग पनि बढेर गएको छ। त्यसैले धेरै र गुणस्तरीय कृषिउपजको उत्पादन गर्नु पर्ने अवस्था छ। प्रविधियुक्त ग्रीन हाउस सञ्चालन भएपछि रोगकिराको प्रकोप कम भइ कृषि उत्पादनमा गुणस्तर कायम भएको छ। कृषि उत्पादनमा काम गर्ने मजदुरको अभाव कम भएको छ। वर्षभरि उत्पादन गर्न थालिएको छ र वितरण गर्न सहज भएको प्रोफेसर कुइयुनले बताउनुभयो। अहिले चीनमा ६० प्रतिशत तरकारी र फलफूल प्रविधियुक्त ग्रीन हाउसबाट उत्पादन भइरहेको छ।

परम्परागत खेती प्रणालीभन्दा ग्रीन हाउसको खेती प्रणालीबाट करिब पाँच गुणा बढी उत्पादन गर्न सकिने हपेइ युनिभर्सिटीका प्रोफेसरहरुको निष्कर्ष छ।
अहिले कृषिमा काम गर्ने मजदुरहरु पाउन मुस्किल छ। धेरै युवाहरु उच्च शिक्षा अध्ययनका लागि शहर पसेका छन्। प्राविधिक चिकित्सा, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियर, बिजिनेस, कृषि विज्ञान लगायतमा युवाको रूची छ। उच्च शिक्षा र रोजगारीको लागि युवाहरु शहरमा बसोबास गरिरहेकाले गाउँमा मजदुर पाउनै मुस्किल छ। जेष्ठ नागरिक र कम अध्ययन गरेका व्यक्ति मात्रै गाउँमा छन्। त्यसैले पनि नयाँ प्रविधि र मेसिनको प्रयोग गरेर ग्रीन हाउसमा खेती गर्ने प्रणाली लोकप्रिय  भएको प्रोफेसर वू स्याओलइको भनाइ रहेको छ। मेसिनको प्रयोग र आधुनिक खेती प्रणालीले गाउँमा बसाइसराइ रोक्न सहयोग गर्ने उहाँले बताउनुभयो।

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button