मध्य भोटेकोशी एक महिनाभित्र सञ्चालनमा ल्याइने, वार्षिक आम्दानी दुई अर्ब ८० करोड

मध्य भोटेकोशी जलविद्युत आयोजना एक महिनाभित्र सञ्चालनमा आउने भएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युतबाट एक महिनाभित्र विद्युत उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरू भइरहेको आयोजनाले जनाएको छ।
बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युत गृहको स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम भइरहेको हो। २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दसैं अगाडि सकिने आयोजनाले जनाएको छ।
सेतोपाटी अनलाइनका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोका–२ का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरू, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष र आयोजनाबीच गत भदौ १३ गते भएको छलफलमा करिब १४ महिनादेखि अवरोध रहेको प्रसारण लाइन निर्माणमा सहमति जुटेको थियो।
बाँध क्षेत्रको निर्माण सकी पानी हालेर परीक्षण समेत भइसकेको छ। आयोजनाको ७.१२४ किमी मुख्य सुरूङ निर्माण सकेर गत वर्षको फागुनमा पानी भरेर परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा मुख्य सुरूङको करिब एक हजार चार सय मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार गरेको आयोजनाले जनाएको छ। हाल सुरूङ सफाइको काम भइरहेको उल्लेख छ। १५ दिनपछि सुरूङमा पानी भर्न थालिने छ।
विद्युत गृहमा सिभिल निर्माण काम सकेर इलेक्ट्रोमेकानिकल उपकरण जडान एवं परीक्षण (ड्राई टेस्ट) भइरहेको छ। सुरूङबाट पानी आउनासाथ उपकरणहरूको वेट टेस्ट सुरू हुनेछ। बाँकी रहेका सम्पूर्ण काम एक महिनाभित्र सकेर विद्युत उत्पादन सुरू गर्ने लक्ष्यका साथ काम भइरहेको उल्लेख गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत सम्मिलित टोलीले शनिबार आयोजना निर्माण स्थल निरीक्षण भ्रमण गरी एक महिनाभित्र जसरी पनि विद्युत उत्पादन हुने गरी काम गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ। राज्यमन्त्री तामाङले बाँकी काम छिटो सक्न र आयोजना व्यवस्थापनका सबै कर्मचारी साइटमै बसेर काम सक्न निर्देशन दिनुभयो।
यो आयोजनाबाट विद्युत उत्पादन सुरू भएपछि सोही विद्युत प्रयोग गरी प्राधिकरणले निर्माण गरेको बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ। २२०–१३२ केभीको बाह्रबिसे सबस्टेसन निर्माण सकिइसकेको छ। यो आयोजनाको विद्युत प्रवाहका लागि अस्थायी वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युतलाई सोही सबस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने छ।