नेपालले भारत र चीनसँगको सम्बन्धलाई समान रूपमा अघि बढाउनुपर्ने पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको भनाइ

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको छ। उहाँले मुलुकको आर्थिक समृद्धिको कार्यभारलाई पूरा गर्न पनि सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको हो।

शनिवार काठमाडौँमा आयोजित नेपाल–भेनेजुयलामैत्री संघ घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालले जहिले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पार्नुभयो।

उहाँले विश्व राजनीतिक एशिया केन्द्रित भइरहेकाले नेपालले पनि भूराजनीतिक संवेदनशीलता बुझेर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने बताउनुभयो। राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्ने र सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीतिलाई नेपालले अघि बढाउनुपर्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो।

श्रेष्ठले भन्नुभयो‚ ‘हामी दुईवटा छिमेक भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौँ। उनीहरूसँग समानतामा आधारित मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौँ। एउटासँग घनिष्ट र अर्कोसँग अलि दूरीको सम्बन्धको पक्षमा छैनौं। तर हाम्रो देशको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको पक्षमा हामी जहिले पनि बोल्छौँ, अडान लिन्छौँ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले स्वतन्त्र परराष्ट्र नीति नेपालले अवलम्बन गर्दै आएको र त्यसमा कत्ति पनि विचलित हुन नहुने बताउनुभएको थाहाखबर अनलाइनले जनाएको छ।

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button