रेडपाण्डा पाइने क्षेत्रमा कुकुर र बिरालोलाई रेबिजविरुद्धको भ्याक्सिन

रेडपाण्डा संरक्षण अभियान सञ्चालन गर्दै आएको हिमाली संरक्षण मञ्चले ताप्लेजुङको रेडपाण्डा पाइने क्षेत्रका बस्तीमा रहेका कुकुर र बिरालोलाई रेबिजविरुद्धको भ्याक्सिन दिएको छ। रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा विगत लामो समयदेखि हिमाली संरक्षण मञ्चले रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

 मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार फुङलिङ नगरपालिकाको फावाखोला, फुरुम्बु, काफ्लेपाटी र माथिल्लो फेदी र हाङदेवा, पाथीभरा याङवरक गाउँपालिकाको तिरिङगे र सिरिजङ्गा गाउँपालिकाको सिकैचाका बस्तीहरूमा रहेका कुकुर र बिरालोलाई रेबिजविरुद्धको भ्याक्सिन दिइएको हो। उहाँका अनुसार यो अवधिमा ३ सय ६८ वटा कुकुर र बिरालोलाई भ्याक्सिन दिइएको छ।

यस्तै कुकुर र बिरालोका लागि भिटामिन, लुतोको औषधि र जुम्राको औषधिसमेत वितरण गरिएको राईले जानकारी दिनुभयो। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्राविधिकहरूमार्फत उक्त शिविर सञ्चालन गरिएको राईले बताउनुभयो।

हिमाली संरक्षण मञ्चले आउँदो कात्तिक अन्तिम सातादेखि मंसिर पहिलो सातासम्ममा फुरुम्बु क्षेत्रका बस्तीहरूमा रहेका कुकुरका लागि बन्ध्याकरण शिविर समेत सञ्चालन गर्ने तयारी गरिएको राईले जानकारी दिनुभयो।

केही वर्षअघि ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाइने रेडपाण्डा मरेको अवस्थामा भेटिएका थिए। कुकुर वा अन्य जन्तुको आक्रमणबाट मरेको हुनसक्ने प्रारम्भिक निष्कर्षका आधारमा रेडपाण्डाको प्रत्यक्ष सम्पर्कमा पुग्ने कुकुर र बिरालोलाई रेबिजविरुद्धको भ्याक्सिन दिने अभियान हिमाली संरक्षण विगत समय देखि नै चलाउँदै आइरहेको छ।

 

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button