प्यालेस्टाइनीमाथिको इजरायली दमन रोक्न १५ वामपन्थी दलको माग

नेकपा (मसाल), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका १५ वामपन्थी दल तथा आन्दोलनले इजरायली सरकारमाथि कडा कारबाही गर्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेकाे नेकपा (माओवादी केन्द्र) का महासचिव देव प्रसाद गुरुङले बताएका छन्।
बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै नेपालका मुख्य वामपन्थी दल र नागरिक अगुवाहरूले इजरायल सरकारले प्यालेस्टाइनी जनतामाथि अत्याचार गरेको जनाएका हुन्।
‘अमेरिकाको उक्साहट र पृष्ठपोषणमा इजरायलको यहुदीवादी सरकार भीषण दमन र राज्य आतङ्कको सहाराले योजनाबद्ध ढंगले प्यालेस्टिनी भूमि बलपूर्वक खोस्दै, खुम्च्याउँदै, प्यालेस्टिनी जनतालाई आफ्नै भूमिबाट बिस्थापित गराउँदै आफ्नो सीमा विस्तारको कार्यमा’ लागेको उनीहरूको आरोप छ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसहित बृहत् नागरिक आन्दोलनका सञ्जीव उप्रेती, सामाजिक अनुसन्धानकर्ता मीना पौडेललगायत १५ व्यक्तिले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। इजरायल अहिले हिजबोल्लाहले आक्रमण गरेको निहुँमा लेबनानमाथि समेत आक्रमण गर्न अघि सरेको भन्दै यसले अब इरानलगायत पूरै पश्चिम एसियालाई द्वन्द्वमा धकेल्ने चिन्तासमेत उनीहरूले व्यक्त गरेका छन्।
द्वन्द्वका कारण प्यालेस्टाइनी भूमीबाट लाखौंको संख्यामा स्थानीय जनताहरू विस्थापित भएको स्पष्ट पार्दै विज्ञप्तिमा नेपाली समुदायलाई द्वन्द्वग्रस्त क्षेत्रमा नजान र गएकालाई तत्काल उद्धार गरी फर्काउन सरकारसँग आह्वान गरिएको छ।
साथै, बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशीको तत्काल उद्धार गरेर घर फर्काउन पनि उनीहरूको सरकारसँग माग छ।