रास्वपा सभापति रवि लामिछाने पक्राउ

पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेलाई उनकै पार्टी कार्यालयबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् ।
उनी बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका हुन्। पक्राउपश्चात् लामिछानेलाई आजै पोखरा लैजाने प्रहरीको तयारी छ ।
सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । जीबी राई भने अहिले फरार छन।