बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री ओली

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) बाट नेपालले लाभ लिने बताउनुभएको छ। पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भई पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा गोङ छिहुङले स्वागत गर्नुभएको राससले जनाएको छ।
अनलाइनखबरका अनुसार प्रधानमन्त्री ओलीले प्रविधिले मानिस बेरोजगार बनाए त्यो विनाशकारी हुने बताउनुभएको छ। उहाँले प्रविधिको विकास, मानिसको रोजगारी र लोकतन्त्रको विषयमा आफ्ना धारणा राख्नेक्रममा भन्नुभयो,‘प्रविधि र लोकतन्त्रको सन्दर्भमा पनि हामीले सतर्क रहनुपर्छ, प्रविधिले यदि मानिसहरूलाई बेरोजगार बनायो भने त्यो विनाशकारी हुनेछ। लोकतन्त्र प्रविधिको प्रतिध्वनि मात्रै हुन सक्दैन।’
चीन प्रविधिको विकासमा संसारमै अगाडि छ । कम्प्युटर चिप्सहरू र अन्य उच्च-प्रविधिका अवयवहरूको विकासमा चीन निरन्तर अगाडि बढिरहेको छ । चीनले संसारकै विशाल फाइभजी नेटवर्क स्थापना गरिसकेको छ । सूचना एवं सञ्चार प्रविधिमा प्रगसत गर्दै अगाडि बढिरहेको देश हो चीन । तर, जति प्रविधिको विकास भएता पनि त्यो मानिसको रोजगारी खोस्नेतिर केन्द्रित हुन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।
Cri