गरिब र कमजोर राष्ट्रहरुमा शक्तिराष्ट्रहरूको हस्तक्षेप

# मुना चन्द
दुःख साँचो अर्थमा गरिबीमा मात्र सीमित हुँदैन, कमजोर राष्ट्र, दुर्बल राज्यसंयन्त्र, र नालायक नेतृत्वको पनि प्रतिफल हो। जब कुनै देश आन्तरिक रूपमा अस्थिर, आर्थिक रूपमा परनिर्भर, र नेतृत्व तहमा दूरदृष्टि विहीन हुन्छ, तब बाह्य शक्तिहरू त्यसलाई आफ्नो स्वार्थअनुसार उपयोग गर्छन्। आज बंगलादेशले भोगिरहेको अवस्था कुनै नौलो होइन। नेपालले पनि उहिल्यैदेखि यस्तै हस्तक्षेपको सामना गरिरहेको छ।
नेपालको इतिहास हेर्ने हो भने, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले आफ्नो वीरता, कूटनीति, र सैन्य बलका आधारमा यो देशलाई एकीकृत गरेका थिए। त्यसपछि बहादुर शाह, अमरसिंह थापा, भीमसेन थापा, वीर बलभद्र कुँवर जस्ता राष्ट्रनायकहरूले आफ्नो ज्यानको बाजी लगाएर मुलुकको रक्षा गरे। जंगबहादुर राणा र राजा महेन्द्रले पनि केही कमजोरीका बाबजुद नेपाललाई शक्तिशाली राष्ट्रहरूको खेलबाट जोगाउने प्रयास गरे।
तर, आज अवस्था त्यस्तो छैन। आजका नेतृत्व वर्ग आफ्ना निहित स्वार्थका लागि विदेशी शक्तिहरूसँग साँठगाँठ गर्न तम्सिन्छन्। सत्तामा बस्नकै लागि विदेशी हस्तक्षेपलाई सहजै स्वीकार्छन्। परिणामतः मुलुक स्वाभिमान गुमाएर शक्तिराष्ट्रहरूको प्रयोगशाला बन्दै गएको छ।
शक्तिराष्ट्रहरूको हस्तक्षेप र नेपाल
नेपालले बाह्य शक्तिहरूको हस्तक्षेप सबैभन्दा बढी भोगेको छ। इतिहासमा फर्केर हेर्दा, ब्रिटिस साम्राज्यले नेपाललाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्यो। त्यसपछि, भारत र अमेरिकाजस्ता राष्ट्रहरूले पनि नेपाललाई आफ्ना रणनीतिक उद्देश्यहरू पूरा गर्न प्रयोग गर्न खोजे र खाेजिरहेका छन्।
ब्रिटिस काल: सन् १८१४-१६ को एंग्लो-नेपाल युद्धमा नेपालले ठूलो भूभाग गुमायो। नेपालभित्र ब्रिटिस समर्थक र राष्ट्रवादी गुटहरूबीचको द्वन्द्व तीव्र बनाइयो।
राणाकाल: जंगबहादुर राणाले ब्रिटिससँग सम्बन्ध प्रगाढ बनाएर देशको स्वायत्तता जोगाउने प्रयास गरे। तर, नेपाली जनशक्ति ब्रिटिस सेनामा प्रयोग भयो।
राजा महेन्द्रको राष्ट्रवाद: उनले विदेशी हस्तक्षेप रोक्न पंचायती व्यवस्था लागू गरे। भारतको प्रभावलाई सन्तुलनमा राख्न चीनसँग सम्बन्ध विस्तार गरे।
लोकतन्त्रपछिको अस्थिरता: १९९० पछि नेपालमा स्थायित्व गुम्दै गयो। २००६ पछि त झन् राजनीतिक नेतृत्व विदेशी शक्तिहरूको निर्देशनमा चल्न थाले।
बंगलादेशको पछिल्लो अवस्था
बंगलादेश अहिले ठूला राष्ट्रहरूको रणनीतिक खेलमा फसेको छ। पछिल्ला केही घटनाहरूलाई हेर्दा त्यहाँ पनि शक्तिराष्ट्रहरूले विभिन्न नाममा हस्तक्षेप गरी आफ्नो प्रभाव जमाउँदै छन्।
बंगलादेशमा विभिन्न आन्दोलन र अस्थिरता बढिरहेका छन्।
सत्ता परिवर्तनका लागि बाह्य शक्तिहरूले भूमिगत रूपमा चलखेल गरिरहेका छन्।
बंगलादेशको सेना, प्रशासन, र अर्थतन्त्र विदेशी प्रभावमा गइसकेको देखिन्छ।
नेपालले भोग्दै आएको स्थिति नै अहिले बंगलादेशले बेहोर्दैछ। कमजोर शासन प्रणाली, भ्रष्टाचार, र नालायक नेतृत्वका कारण यी मुलुकहरू सजिलै शक्तिराष्ट्रहरूको जालमा फस्छन्।
निष्कर्ष
गरिब राष्ट्रहरूमा राजनीतिक परिवर्तन गर्न शक्तिराष्ट्रहरूलाई खासै मेहनत गर्नु पर्दैन। कमजोर नेतृत्व, भ्रष्ट राज्यसंयन्त्र, र आर्थिक निर्भरता नै उनीहरूका लागि भरपर्दो औजार हो। नेपाल र बंगलादेश दुवै यस्तै नियति भोगिरहेका छन्। इतिहासका पाटाहरूबाट सिकेर आत्मनिर्भर बन्ने नीति लिनु नै यी राष्ट्रहरूको वास्तविक आवश्यकता हो। तर, हालसम्मका संकेतहरू हेर्दा, नेपालले जस्तै बंगलादेशले पनि शक्तिराष्ट्रहरूको योजनामा खेल्न बाध्य हुनुपर्ने देखिन्छ।