युरोप र अमेरिकाबीच बढ्दो कूटनीतिक असहमति र आगामी चुनौतीहरू

# प्रेम सागर पाैडेल

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले म्युनिख सुरक्षा सम्मेलन (MSC) मा दिएको विवादास्पद भाषणपछि अमेरिकी-युरोपियन सम्बन्धमा तनाव देखिएको छ। उनले युरोपको लोकतन्त्र, आप्रवासन नीति, र अभिव्यक्ति स्वतन्त्रताको विषयमा आलोचना गरेपछि जर्मनी, फ्रान्स लगायतका युरोपियन नेताहरूले कडा प्रतिक्रिया दिएका छन्।

जर्मन चान्सलर ओलाफ स्कोल्जले भान्सको अभिव्यक्तिको आलोचना गर्दै जर्मनी र युरोपलाई कसैले निर्देशन दिन नहुने बताएका छन्। फ्रान्सका विदेशमन्त्री जीन-नोएल बारोटले पनि युरोपियन नीतिहरूको बचाउ गर्दै, युरोप आफैंले आफ्नो नीति निर्धारण गर्न सक्ने बताएका छन्।

भान्सले युरोपको सबभन्दा ठूलो चुनौती बाह्य नभई आन्तरिक लोकतान्त्रिक क्षयीकरण भएको दाबी गर्दै युरोप अमेरिकी मौलिक मूल्यबाट भट्किएको आरोप लगाए। उनको भनाइले अमेरिकी-युरोप सम्बन्धमा थप दरार उत्पन्न गराएको छ। विशेष गरी, ट्रम्प प्रशासनले स्टिल र एल्युमिनियममा लगाएको भन्सार, गाजाको समस्या र युक्रेन संकटमा लिएको विवादास्पद नीति युरोपेली नेताहरूलाई असहज बनाइरहेको छ।

युरोप भ्रमणका क्रममा भान्सले जर्मनीको दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर डोइचल्यान्ड (AfD) का नेतासँग भेटघाट गरे। यो भेटघाटले जर्मनीको राजनीतिक वृतमा ठूलो बहस जन्माएको छ, किनकि ट्रम्प प्रशासन युरोपमा दक्षिणपन्थी पॉपुलिस्ट दलहरूको समर्थन गर्दै आएको छ। भान्सले जर्मनीका चान्सलर स्कोल्जसँग भेट नगर्नु पनि कूटनीतिक सन्देशको रूपमा लिइएको छ।

चीनका अन्तर्राष्ट्रिय मामिला विशेषज्ञहरूका अनुसार, ट्रम्प प्रशासनको दक्षिणपन्थी शक्तिहरूसँगको बढ्दो सम्बन्धले अमेरिकी-युरोपियन परम्परागत सम्बन्धमा गम्भीर असर पार्ने देखिन्छ। बेइजिङ विदेशी अध्ययन विश्वविद्यालयका प्रोफेसर छुई होङजियानका अनुसार, ट्रम्प प्रशासन मुख्यधारको युरोपेली राजनीतिक दलहरूलाई उपेक्षा गर्दै दक्षिणपन्थी समूहहरूसँग नजिकिएको छ।

झिनजियाङ विश्वविद्यालयका अनुसन्धानकर्ता डोङ यिफानका अनुसार, ट्रम्प प्रशासनका यी कदमहरूले अमेरिकालाई युरोपको विश्वासयोग्य साझेदारको रूपमा हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन ल्याएको छ। उनले भने, “यसले अमेरिका र युरोपबीचको लामो समयदेखिको राजनीतिक विश्वासलाई क्षति पुर्याएको छ, जसका कारण कूटनीतिक तनाव मात्र होइन, सामान्य सम्बन्धहरूमा पनि असहजता सिर्जना भएको छ।”

बीबीसीका अनुसार, यो वर्षको म्युनिख सुरक्षा सम्मेलन मुख्यत: युक्रेन संकट र युरोपेली रक्षा खर्चमा केन्द्रित हुने अपेक्षा गरिएको थियो। तर, सम्मेलनमा सहभागी वरिष्ठ अमेरिकी अधिकारीले यी विषयमा चर्चा नगरी युरोपको आन्तरिक मुद्दालाई प्राथमिकता दिए, जसले अमेरिकी-युरोपेली सम्बन्धलाई थप जटिल बनाएको देखिन्छ।

चिनियाँ विश्लेषकहरूका अनुसार, अमेरिका र युरोपबीचको यो बढ्दो तनावले अन्तर्राष्ट्रिय कूटनीतिक परिदृश्यमा नयाँ समीकरण सिर्जना गर्ने सम्भावना छ। खासगरी, चीन, रूस र अन्य उदीयमान शक्तिहरूले यो परिस्थितिलाई कसरी उपयोग गर्छन् भन्ने भविष्यका अन्तर्राष्ट्रिय सम्बन्धहरूका लागि निर्णायक हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button