नेपालस्थित चिनियाँ दूतबासको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव

बुध्द जन्मस्थलको प्रबर्धन गर्ने उध्देश्यसहित मार्च २० तारिख बिहीबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव शुरु भएको छ। महोत्सवको स्वागतमा आयोजित कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूत छन सोङले लुम्बिनी विश्वकै पवित्र ठाउँ भएको बताउनुभयो। उहाँले बुध्द जन्मस्थल लुम्बिनीबाट बुध्द शिक्षा संसारको लागि प्रचार प्रसार गर्न महत्त्वपूर्ण रहने बताउनु भएको जनआस्था अनलाइनले लेखेको छ।
राजदूत छन सोङले लुम्बिनीलाई ध्यानको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने पनि बताउनुभयव। “नेपाल र चीनको सम्बन्ध हार्ट टु हार्ट अर्थात मनदेखि मनसम्म रहेको छ” उहाँले भन्नुभयो। सो अवसरमा नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल र चीनको दौत्य सम्बन्धलाई अझै मजबुत बनाउन लुम्बिनी शान्ति उत्सव थप प्रभावकारी हुने बताउनुभयो।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले लुम्बिनीको प्रबर्धन र सम्बर्धनका लागि चिनियाँ दूतावासको सहकार्यका कार्यक्रम फलदायी हुने राय व्यक्त गर्नुभयो।
कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सरुजिध्दिन खानको पनि आतिथ्यता रहेको थियो। लुम्बिनीमा यो महोत्सव ३ दिनसम्म विविध कार्यक्रमसहित मनाइँदैछ।
महोत्सवको औपचारिक शुभारम्भ आज मार्च २१ तारिख शुक्रबार बिहान ७ बजेदेखि साढे ७ बजेसम्म लुम्बिनीको पवित्र मैदानमा गरिएको छ। बिहान साढे ७ बजेदेखि ९ बजेसम्म अन्तर्राष्ट्रिय ध्यान महोत्सव राखिएको थियो।
शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म लुम्बिनी बौध्द विश्वविद्यालय र चीनको छङ्ह्वा गुम्बाबीच परम्परागत सांस्कृतिक आदानप्रदान गरिँदै छ। शनिबार बिहान साढे ६ बजेदेखि साढे ११ बजेसम्म अन्तर्राष्ट्रिय शान्ति म्याराथुन, साँझ ६ बजेदेखि ८ बजेसम्म लुम्बिनी शान्ति कन्सर्टको तालिका छ।
चैत २४ गते विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसबारे सम्मेलन तथा बैशाख २८ गते शनिबारका दिन फोटो प्रदर्शनी राखिएको छ। छङ्ह्वा गुम्बा स्थापनाको २५ औं वार्षिकोत्सवका अवसरमा फोटो प्रदर्शनी गर्न लागिएको हो। सोही दिन प्रार्थना समारोह र भोलिपल्ट बुद्ध जयन्तीको दिन समापन समारोहको आयोजना गरिने जानकारी दिइएको छ।