रसियन चासो, नेपाली मौनता र भविष्यको सम्भावना

# मुना चन्द
रुस र नेपालको सम्बन्ध दशकौं पुरानो भए पनि हालका दिनमा यस सम्बन्धलाई पुनः परिभाषा गर्ने महत्वपूर्ण घडी आएको छ। पूर्व सोभियत संघको पालादेखि नै नेपालसँगको सम्बन्धलाई रुसले राजनीतिक भन्दा बढी सांस्कृतिक, शैक्षिक, प्रविधिक र मानवमैत्री सहयोगको रूपमा अघि बढाउँदै आएको थियो। यतिबेला रुसले नेपालप्रति देखाएको चासो, प्रस्ताव र सन्देशहरूलाई गम्भीर ढंगले नहेर्ने हो भने, नेपालले दीर्घकालीन रूपमा महत्वपूर्ण अवसर गुमाउन सक्छ।
सबैभन्दा गम्भीर चासोको विषय रुसले नेपाललाई रेलमार्ग विकासमा सहयोग गर्न पठाएको प्रस्ताव हो। सो प्रस्तावमा नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै भारत, चीन र रुसलाई समेट्ने पूर्वाधार सञ्जालको परिकल्पना गरिएको थियो। रुसको दृष्टिमा यो केवल भौतिक पूर्वाधारको विकास मात्र होइन, दक्षिण एशियामा वैकल्पिक सहकार्यको रणनीतिक
ढाँचा निर्माण गर्ने पहल थियो। तर, दुर्भाग्यवश नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यति दूरदृष्टि सहितको प्रस्तावलाई नजरअन्दाज गर्नु केवल राजनीतिक निष्क्रियता होइन, भविष्यप्रतिको अदूरदर्शिता पनि हो।
रुसको चासो रेलमार्गमा मात्र सीमित छैन। रुसले शिक्षा, प्रविधि, ऊर्जा, स्वास्थ्य, हाइड्रोपावर डिजाइन र सूचना प्रवाह प्रणालीमा पनि संयुक्त परियोजना सञ्चालन गर्न चाहेको जनाएको छ। यसको एक उदाहरण हो, नेपालमा रूसी गृह काठमाण्डू (Russian House in Kathmandu) मार्फत गरिएको सक्रियता। यो संस्था नेपालको युवा पुस्तासँग सीधा संवाद गर्दै आएको छ। संस्थाका निर्देशक आन्तोन मास्लोवले हालै दिएको सन्देश विशेष अर्थपूर्ण छ “तपाईंहरूले एउटै मात्र स्रोतमा भर नपरी सकेसम्म धेरैभन्दा धेरै जानकारी सङ्कलन गर्नुहोस्। आफ्नै निष्कर्षमा पुग्नुहोस् र अघि बढ्नुहोस्। तपाईंहरू देश र भविष्य परिवर्तन गर्ने क्षमता राख्नुहुन्छ।”
यो सन्देश केवल सूचनात्मक चेतना जगाउने शब्द होइन, सूचना–युद्धको युगमा वैचारिक स्वतन्त्रताको घण्टी पनि हो। नेपालमा यतिबेला युवाहरू विभिन्न अफवाह र भ्रामक प्रवृत्तिहरूको शिकार भइरहेका छन्। यस्ता अवस्थामा यस्ता अन्तर्राष्ट्रिय सन्देशहरूले सूचनाको विविधता, आलोचनात्मक सोच र राष्ट्रिय निर्णय क्षमताको सुदृढीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।
रुसलाई थप गम्भीर चासो दिइरहेको अर्को विषय हो रुसी सेनामा नेपाली युवाहरूको सहभागिता। केही नेपाली युवा रुस पुगेर त्यहाँको सेनामा भर्ती भएको समाचार सार्वजनिक भएपछि, यसबारे रूसी विश्लेषक आलेक्साण्डर इसाश्येभले खुलेर आफ्नो धारणा राखेका छन्। उनले स्पष्ट रूपमा भनेका छन् कि यो विषय केवल व्यक्तिगत निर्णय मात्र होइन, यसले द्विपक्षीय सम्बन्धको संवेदनशीलतालाई असर पार्न सक्छ। इसाश्येभको भनाइमा एउटा चेतावनी पनि छ यदि सम्बन्धको गहिराइ बुझिएन भने गलत निर्णयले राष्ट्रिय असमझदारी निम्त्याउन सक्छ।
रुसले यतिबेला नेपालको भू-रणनीतिक स्थितिलाई एक अवसरका रूपमा हेरिरहेको छ। भारत र चीनबीच सन्तुलन बनाउँदै रुस नेपालमा दीर्घकालीन साझेदारीको वातावरण बनाउने चाहनामा छ। नेपालले भने यो अवसरलाई गम्भीर रूपमा नलिँदा न त पूर्वाधारमा ठोस फड्को मार्न सकिन्छ, न त कूटनीतिक स्वतन्त्रताको अभ्यास गर्न।
रुस-नेपाल सम्बन्धमा आज जे जति सम्भावना देखिन्छ, त्यसको केन्द्रमा रसियन इच्छाशक्ति, चासो र प्रस्तावहरू छन्। नेपालको भूमिकाले अब यी सम्भावनाहरूको दिशा निर्धारण गर्नेछ सक्रिय सम्बादद्वारा साझेदारी सुदृढ गर्ने कि मौनताद्वारा अवसर चुकाउने।