इलाममा रमाएर फर्किए विभिन्न देशका राजदूत

विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरुलाई नेपालको पर्यटकीय गन्तव्य इलामको भ्रमण गराइ पर्यटन प्रवर्धन गरिएको छ। नेपालको पूर्वी पहाडी गन्तव्य इलामको प्राकृतिक, संस्कृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनाको प्रवर्धन गरिएको हो। नेपालको परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको उक्त भ्रमणले इलामको पर्यटन गन्तव्यका रूपमा प्रवर्धन गर्न सहयोग पुर्याएको बोर्डले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणाको नेतृत्वमा सहभागी राजदूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले इलामको शान्त वातावरण, पहाडी जीवनशैली, प्राकृतिक र सांस्कृतिक विविधता अनुभव गरेका छन्।
भ्रमणले स्थानीय संस्कृती र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसाम प्रस्तुत गर्ने अवसर प्रदान गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताउनुभयो।
अप्रिल १३ तारिखका दिन काठमाडौंबाट भद्रपुर विमानस्थल हुँदै इलामको यात्रा सुरु भएको थियो। भद्रपुरबाट स्थलमार्ग हुँदै कन्याम पुगेको प्रतिनिधिमण्डललाई कान्याम नगरपालिकाद्वारा अतिथिहरूको भव्य स्वागत गरिएको थियो।
पाहुनाले सांस्कृतिक नृत्य, लोकसङ्गित तथा आतिथ्य कार्यक्रमको मज्जा लिएका थिए भने हर्स राइडिङको विशेष अनुभव लिएर उक्त टोली श्रीअन्तुतर्फ प्रस्थान गरेको थियो।
अप्रिल १४ तारिखका दिन बिहान श्रीअन्तुबाट सूर्योदयको अनुपम दृश्यावलोकन गराइएको थियो भने अन्तु पोखरीमा माछा मार्ने र डुङ्गा सयर गर्ने गतिविधि भयो। त्यस्तै चिया टिप्ने प्रतियोगिता र टि टेस्टिङ कार्यक्रम समेत आयोजना गरियो जसले इलामको चिया संस्कृतिको अनुभव प्रदान गर्यो।
स्थानीय उत्पादन ‘चिज टेस्टिङ’ कार्यक्रम र साँझ विविध सांस्कृतिक कार्यक्रममा पाहुनाहरु सहभागी भएका थिए। उक्त प्रतिनिधिमण्डल अप्रिल १५ तारिखका दिन इलामसँग बिदाइ, भद्रपुर विमानस्थल हुँदै काठमाडौं फिर्ता भएको थियो। भ्रमणले इलामको पर्यटन गन्तव्यका रूपमा प्रवर्धन गर्न सहयोग पुर्याएको बोर्डले जनाएको छ।