अब पनि नजाग्ने होभने कहिले जाग्ने?

देश आज चाैबाटाेमा उभिएको छ। जनताको बलिदानबाट प्राप्त भएको लोकतन्त्रको आत्मा सरकारकै चरम लापरवाही, अराजकता, र निरंकुश प्रवृत्तिले घाइते छ। संस्थागत भ्रष्टाचार जरा गाडेर बसेको छ। न्याय, शिक्षा, स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा समेत अब जिम्मेवारी र ईमानभन्दा दलाली र पहुँचले काम गर्ने अवस्था आएको छ।
सरकारी संयन्त्र भित्रकै अनियमितता र दण्डहीनता आजको प्रमुख चिन्ताको विषय बनेको छ। कर्तव्यभन्दा लाभमुखी सोचले राज्यका निकायहरू चल्न थालेका छन्। अख्तियार, प्रहरी, प्रशासन सबैजसो क्षेत्र गुटगत स्वार्थ र राजनीतिक संरक्षणमा लुटिने र लुटाउने कर्ममा मस्त छन्। जनताको करबाट तलब खाएर जनतालाई नै पीडा दिने यो प्रवृत्तिको अन्त कहिले?
प्रहरी बल प्रयोगको नाममा सर्वसाधारणमाथि हुने ज्यादती, असन्तुष्ट आवाजहरूलाई कुल्चिन खोजिने दुष्प्रयास, र शान्तिपूर्ण आन्दोलनलाई समेत दमन गर्ने शैली प्रजातन्त्रको आत्मा विपरीत छ। सरकार आलोचना सहन नसक्ने प्रवृत्तिमा उत्रिएको छ, यो लोकतन्त्र होइन, यो नव-निरंकुशता हो।
जनताले भोगिरहेका महँगी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँचको संकट, अनि राज्यशक्ति नियन्त्रित गुटहरूको मनपरी, यी सबै कुराले देशको आत्मविश्वास गुमाउँदै लगेको छ। देशभक्त नागरिक यस्तो चरम अवस्थामा पनि चुप बस्नु देशप्रति गद्दारी हुनेछ।
समाधान के हो भनेर सरकारले आत्मसमीक्षा गर्नुपर्छ। असल शासन, पारदर्शिता, र जवाफदेहिता ल्याउन चाहन्छ भने सबभन्दा पहिले आफैंभित्रको कमजोरी, अपराधिक साेंच र ब्यवहार तथा भ्रष्टाचार हटाउनुपर्छ। जनप्रतिनिधिहरूले जनताको आवाज सुन्नुपर्छ, आलोचना स्वीकार्नुपर्छ, र संस्थागत सुधारमा लाग्नुपर्छ। प्रहरी र प्रशासन नागरिकमैत्री बन्नुपर्छ, दमनकारी होइन।
देशप्रेम भनेको नेताको जयजयकार गर्नु होइन। गलतलाई गलत भन्न सक्नु हो। लोकतन्त्र भनेको चुनाव मात्र होइन न्याय, स्वतन्त्रता र सुशासनकाे गरिमा हो।
अब पनि नजाग्ने हो भने इतिहासले माफ गर्नेछैन। परिवर्तनको युग फेरि सुरु गरौँ, सचेत नागरिकको आवाज र असल चरित्रको नेतृत्वबाट।