२०२५ मा सी चिनफिङको कूटनीति: बहुध्रुवीय विश्वतर्फ चीनको दृढ पाइला

# अविनाश शर्मा

सन २०२५ समाप्त हुँदै गर्दा चिनियाँ राष्ट्रपति सी चिनफिङले वर्षभरि सञ्चालन गरेका कूटनीतिक गतिविधिहरूले विश्व राजनीतिमा चीनको दृढ, स्थिर र रणनीतिक उपस्थिति स्पष्ट पारेका छन्। बढ्दो क्षेत्रीय द्वन्द्व, भूराजनीतिक तनाव र बहुपक्षीय प्रणाली प्रति घट्दो विश्वासको बीचमा चीनले एकता, संवाद र सहकार्यलाई आफ्नो कूटनीतिक मूल आधार बनाएको देखिन्छ।

मानवता पुनः विभाजन र सहकार्यबीचको मोडमा उभिएको सन्दर्भमा, सीको नेतृत्वमा चीनको विदेश नीतिले शून्य–योग प्रतिस्पर्धाभन्दा पनि साझा हित र विन–विन सहकार्य नै दीर्घकालीन समाधान भएको सन्देश दिएको छ। सन २०२५ विश्व शासन प्रणालीका लागि निर्णायक वर्षका रूपमा उदाएको विश्लेषकहरूको बुझाइ छ।

यही वर्ष चीनको तियान्जिनमा सम्पन्न शाङ्घाइ सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा राष्ट्रपति सीले ग्लोबल गभर्नेन्स इनिसिएटिभ (जीजीआई) प्रस्ताव गरे। संगठनको २४ वर्षे इतिहासमै सबैभन्दा ठूलो उक्त सम्मेलनमा २० भन्दा बढी देशका राष्ट्राध्यक्ष तथा १० अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो। सीले सार्वभौम समानता, अन्तर्राष्ट्रिय कानुनको सम्मान, बहुपक्षीयता, जनकेन्द्रित दृष्टिकोण र व्यवहारिक कार्यान्वयनलाई जीजीआईका आधारभूत सिद्धान्तका रूपमा प्रस्तुत गरे। यसअघि प्रस्ताव गरिएका ग्लोबल डेभलपमेन्ट, ग्लोबल सेक्युरिटी र ग्लोबल सिभिलाइजेशन इनिसिएटिभपछि जीजीआईलाई चीनले विश्वलाई दिएको अर्को महत्वपूर्ण सार्वजनिक योगदानका रूपमा हेरिएको छ।

सन २०२५ ले चीन–जापान युद्ध, विश्व फाँसिवाद विरोधी युद्ध र संयुक्त राष्ट्रसंघ स्थापनाको ८०औँ वर्षगाँठ पनि समेट्यो। सेप्टेम्बर ३ मा बेइजिङमा आयोजित भव्य सैनिक परेड तथा विजय दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै सीले अन्तर्राष्ट्रिय न्याय, शान्तिपूर्ण विकासको मार्ग र जनताको जीवनस्तर सुधारप्रति निरन्तर प्रतिबद्धता आवश्यक रहेको बताएका थिए।

विश्व शासन प्रणाली सुधार, शान्ति र विकासको प्रश्न तीव्र बन्दै गएको बेला चीनले बहुआयामिक कूटनीतिक एजेन्डा अघि सारेको छ। सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलनमा भिडियो सन्देशमार्फत सीले चीनका नयाँ जलवायु प्रतिबद्धता सार्वजनिक गरे। जसअनुसार, चीनले हरितगृह ग्यास उत्सर्जन ७ देखि १० प्रतिशतसम्म घटाउने र २०३५ सम्म कुल ऊर्जा खपतमा गैर–जीवाश्म ऊर्जाको हिस्सा ३० प्रतिशतभन्दा बढी पुर्‍याउने लक्ष्य लिएको छ।

अक्टोबरमा बेइजिङमा सम्पन्न महिला सम्बन्धी विश्व नेताहरूको बैठकमा सीले महिलालाई विश्व शासन प्रक्रियामा अर्थपूर्ण भूमिका दिनुपर्ने र त्यसको लाभमा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याए। नोभेम्बरमा दक्षिण कोरियामा सम्पन्न एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा उनले कृत्रिम बुद्धिमत्ता मानव हितमा आधारित, सुरक्षित र निष्पक्ष रूपमा विकास हुनुपर्ने धारणा राखे।

महाशक्तिहरूसँगको कूटनीतिमा पनि चीन सक्रिय रह्यो। यस वर्ष राष्ट्रपति सी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच निरन्तर संवाद र भेटघाट भए। सीले चीन–रूस सम्बन्धलाई दुवै देशका जनताको हितसँग जोडिएको तथा विश्व शान्तिको स्थायित्वका लागि महत्वपूर्ण आधारका रूपमा व्याख्या गरे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि सीका पटक–पटक टेलिफोन संवाद भए भने अक्टोबरमा दक्षिण कोरियाको बुसानमा छ वर्षपछि दुवै नेताबीच प्रत्यक्ष भेटवार्ता भयो। सो भेटमा चीन र अमेरिका प्रतिस्पर्धी होइन, साझेदार बन्नुपर्ने सन्देश दुवै पक्षबाट आएको थियो।

युरोपेली कूटनीतिमा पनि चीन सक्रिय देखियो। डिसेम्बरमा चिनियाँ राष्ट्रपति सीले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँग भेटवार्ता गरे। जर्मनी, स्पेन, पोर्चुगल लगायत युरोपेली देशका नेतासँग पनि वर्षभरि निरन्तर संवाद भयो। सीले जटिल र चुनौतीपूर्ण अन्तर्राष्ट्रिय परिवेशमा चीन–युरोप सहकार्य अझ गहिरो बनाइनुपर्नेमा जोड दिए।

छिमेकी देशहरूसँगको सम्बन्धलाई प्राथमिकतामा राख्दै चीनले दक्षिण पूर्वी एसियामा कूटनीतिक सक्रियता बढायो। अप्रिलमा आयोजित छिमेकी देशसम्बन्धी केन्द्रीय सम्मेलनपछि सीले भियतनाम, मलेसिया र कम्बोडियाको राजकीय भ्रमण गरे। जुनमा कजाकस्तानको अस्तानामा चीन र मध्य एसियाली पाँच देशबीच स्थायी सद्भाव र मैत्री सन्धिमा हस्ताक्षर भयो भने ऊर्जा, सम्पर्क र विकास रणनीतिजस्ता क्षेत्रमा ६० भन्दा बढी सहकार्य सम्झौता सम्पन्न भए।

अक्टोबर अन्त्यदेखि नोभेम्बर सुरुवातसम्म राष्ट्रपति सी ११ वर्षपछि पहिलोपटक दक्षिण कोरिया पुगे, जहाँ दुवै देशबीचको रणनीतिक सहकार्य साझेदारी पुनः पुष्टि गरियो। चीनले अफ्रिकाका ५३ देशलाई शून्य भन्सार सुविधा लागू गर्ने घोषणा गर्नुका साथै ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रसँग एकता, विकास र जनस्तरको सम्पर्क विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

वर्षभरि पाँचै महादेशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले चीन भ्रमण गरे। बेल्ट एन्ड रोड इनिसिएटिभको उच्च गुणस्तरीय कार्यान्वयन मार्फत विकासोन्मुख देशहरूको आधुनिकीकरणमा चीनले सहयोग गरिरहेको सीको भनाइ छ। ग्रेनेडाका प्रधानमन्त्री डिकन मिचेलले चीनलाई ग्लोबल साउथको अग्रणी शक्ति भन्दै साना–ठूला सबै देशलाई समान रूपमा व्यवहार गर्ने राष्ट्रका रूपमा प्रशंसा गरेका छन्।

BRICS, एससीओ लगायत बहुपक्षीय मञ्चहरूमा चीनले ग्लोबल साउथको प्रतिनिधित्व र आवाज बलियो बनाउने अडान लिएको छ। आपूर्ति शृङ्खला अवरोध र ‘डिकप्लिङ’ को दबाबबीच पनि चीनले समावेशी र सर्वहितकारी आर्थिक विश्वव्यवस्थाको पक्षमा वकालत गरिरहेको छ। हालसम्म चीनले ४८ देशका नागरिकलाई एकतर्फी भिसा छुट दिएको, ३० देश तथा क्षेत्रसँग २३ वटा स्वतन्त्र व्यापार सम्झौता गरेको र विदेशी लगानीका लागि नकारात्मक सूची निरन्तर घटाउँदै आएको जनाएको छ।

हर्बिनमा सम्पन्न नवौं एसियाली शीतकालीन खेलकुद, सभ्यता संवाद सम्मेलनहरू, युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत बेइजिङ सेन्ट्रल एक्सिसको प्रवर्द्धन तथा युवा साइनोलोजिस्टहरूसँगको अन्तरक्रियामार्फत चीनले सभ्यताबीचको संवादलाई कूटनीतिक एजेन्डाको केन्द्रमा राखेको देखिन्छ।

सन २०२५ को नयाँ वर्ष सन्देशमा सीले उल्लेख गरेझैं, चीन सबै देशसँग मित्रता र सहकार्य प्रवर्द्धन गर्दै साझा भविष्य निर्माणमा योगदान पुर्‍याउन प्रतिबद्ध रहनेछ। विश्लेषकहरूका अनुसार, सन २०२५ मा राष्ट्रपति सी चिनफिङको कूटनीतिक सक्रियताले चीनलाई समान, बहुध्रुवीय र व्यवस्थित विश्व व्यवस्थाको एक महत्वपूर्ण स्तम्भका रूपमा उभ्याएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button