संकटको घडीमा देखिएको नेतृत्वको साँचो अनुहार

# प्रेम सागर पाैडेल

नेपाली राजनीतिमा नेतृत्वको वास्तविक परीक्षा चुनावी जित, सामाजिक सञ्जालको लोकप्रियता वा मञ्चीय भाषणले होइन, संकटको घडीमा हुने निर्णय र व्यवहारले हुन्छ। जब दल कमजोर बन्छ, संगठन भित्रैबाट चिरिन्छ र भविष्य अन्योलमा पर्छ, तब मात्रै को नेता हो र को अवसरवादी हो भन्ने छुट्टिन्छ। आज नेपाली काँग्रेस भित्र उत्पन्न गहिरो संकटले यही यथार्थ नाङ्गो बनाइदिएको छ। यही सन्दर्भमा गगन थापा र महेश बस्नेतको राजनीतिक भूमिकाको तुलना केवल दुई व्यक्तिको प्रतिस्पर्धा होइन, दुई भिन्न राजनीतिक चरित्र, दृष्टिकोण र साहसको मापन हो।

गगन थापा नेपाली राजनीतिमा परिवर्तनको प्रतीक मानिन्छन्। उनको भाषा प्रखर छ, अभिव्यक्ति आकर्षक छ र युवापुस्ता माँझ लोकप्रियता पनि उल्लेख्य छ। तर लोकप्रियता र नेतृत्व सधैं एकै हुँदैन। नेतृत्व तब प्रमाणित हुन्छ जब परिस्थिति प्रतिकूल हुन्छ। पार्टी संकटमा फस्दा, संगठन कमजोर हुँदा र निर्णय कठिन बन्दा नेता कसरी उभिन्छ भन्ने कुराले नै इतिहास बनाउँछ।

आज देखिँदा गगन थापा खुल्ला आकाश देखिएपछि मात्रै धमिलो पानीमा माछा मार्न उत्रिएको आरोपबाट पूर्णतः मुक्त देखिँदैनन्। पार्टीभित्र शक्ति सन्तुलन बदलिँदै गएको, संस्थापन कमजोर देखिन थालेको र असन्तोष सतहमा आएको बेलामा उनी आक्रामक रूपमा अघि सरे। सुधार, पुस्तान्तरण र परिवर्तनका नारा उनले जोडदार रूपमा उठाए। तर प्रश्न उठ्छ, संकट सुरु हुँदै गर्दा, पार्टी चिरिन लाग्दै गर्दा, उनी किन अग्रमोर्चामा देखिएनन् ?

यसको ठीक उल्टो चित्र महेशको राजनीतिक व्यवहारमा देखिन्छ। असहज समयमै उनले आफ्नो भूमिका स्पष्ट पारे। पार्टीभित्र असन्तोष बढ्दै गर्दा, नेतामाथि चौतर्फी दबाब बढ्दै गर्दा, संगठन भत्किन सक्ने खतरा बढ्दै गर्दा उनले नेतृत्व जोगाउने र दल एकताबद्ध राख्ने जिम्मेवारी बोके। यो भूमिका सजिलो थिएन, न त लोकप्रिय नै। तर यही ठाउँमा राजनीतिक साहसको वास्तविक अर्थ प्रकट हुन्छ।

साहस सधैं विद्रोह गर्नु होइन। साहस कहिलेकाहीँ संगठन जोगाउन आलोचना सहनु पनि हो। महेशले आफ्ना नेताका कमजोरी नदेखेका होइनन्। तर उनले ती कमजोरीलाई सार्वजनिक तमासामा बदल्ने बाटो रोजेनन्। उनले पार्टीको इतिहास, संरचना र भविष्यलाई ध्यानमा राखे। नेतृत्व कमजोर भए पनि संस्था कमजोर हुनु हुँदैन भन्ने बुझाइ उनको राजनीतिक आचरणमा स्पष्ट देखिन्छ।

गगन थापाको राजनीतिमा भने सुधारको नाममा टकराव, दबाब र शक्ति पुनर्संरचनाको अभ्यास बढी देखियो। आफ्नै नेताको जरा उखेल्ने शैली, समानान्तर शक्ति केन्द्र निर्माण गर्ने प्रयास र विशेष महाधिवेशनलाई हतियार बनाउने रणनीतिले पार्टीलाई सुधारभन्दा बढी विभाजनतर्फ धकेलेको यथार्थ अस्वीकार गर्न सकिँदैन। परिवर्तन आवश्यक हुन्छ, तर परिवर्तनको प्रक्रिया विनाशकारी भयो भने त्यसले इतिहासमा नकारात्मक छाप छोड्छ।

भृकुटीमण्डप र सल्लाघारीका दृश्यहरूले पनि यही भिन्नता देखाए। भृकुटीमण्डपमा गगन पक्षले जुटाएको भीड भावनात्मक र आवेगपूर्ण थियो। नारा थिए, असन्तोष थियो, तर स्पष्ट दिशा र दीर्घकालीन योजना देखिन्थेन। सल्लाघारीमा महेश पक्षले देखाएको उपस्थिति भने संगठनात्मक, संयमित र अनुशासित थियो। त्यो भीड ठूलो वा सानो भन्ने बहस हुन सक्छ, तर त्यो भीडको प्रकृतिले धेरै कुरा बोल्छ।

राजनीतिमा भीड आफैं लक्ष्य होइन, संकेत मात्र हो। सल्लाघारीको उपस्थिति महेशको राजनीति भावनामा होइन, संगठनमा आधारित रहेको प्रमाण हो। उनले चर्को भाषणभन्दा संरचना र निरन्तरतामा भरोसा गरे। गगनको राजनीति भने लहर, युवावादी नारा र तत्कालीन दबाबमा बढी आधारित देखिन्छ।

यहाँ एउटा गम्भीर प्रश्न उठ्छ, सुधार कसरी गर्ने ? संरचना भत्काएर कि संरचना जोगाएर ? गगनको दृष्टिकोणमा पुरानो संरचना आफैं समस्या हो, त्यसलाई भत्काएर मात्रै नयाँ बन्न सक्छ। महेशको दृष्टिकोणमा भने संरचना कमजोर हुन सक्छ, तर त्यसलाई सुधार्दै अघि बढ्नु नै जिम्मेवार बाटो हो।

इतिहासले देखाएको छ, हतारमा गरिएको सुधार प्रायः विभाजनमा परिणत हुन्छ। धैर्य र संवादबाट गरिएको सुधार ढिलो भए पनि दिगो हुन्छ। यही बिन्दुमा महेशको राजनीतिक व्यवहार बढी परिपक्व देखिन्छ। उनले जित्ने राजनीति गरेनन्, जोगाउने राजनीति गरे।

गगन थापाको योगदान र क्षमतालाई नकार्न मिल्दैन। उनी प्रश्न सोध्ने नेता हुन्, बहस सिर्जना गर्ने नेता हुन्। तर नेतृत्वको परिपक्वता प्रश्न सोध्ने मात्र होइन, उत्तर दिन सक्ने क्षमतामा पनि निर्भर हुन्छ। संकटको घडीमा उत्तर खोज्नु, समाधान दिनु र दललाई सुरक्षित किनारमा पुर्‍याउनु नै नेतृत्वको अन्तिम परीक्षा हो।

आज नेपाली काँग्रेस जुन मोडमा पुगेको छ, त्यहाँ प्रश्न सरल छ, कसले पार्टीलाई चिरिनबाट जोगाउने प्रयास गर्‍यो ? कसले संगठनलाई थाम्ने जोखिम उठायो ? उत्तर धेरैका लागि असहज भए पनि स्पष्ट देखिन्छ।

खुलेको आकाशमा उड्न सक्ने धेरै हुन्छन्। तर आँधी, वर्षा र अन्धकारमा पनि बाटो नछाड्ने थोरै। अहिलेको संकटमा आँधीको बीचमा उभिएर दल जोगाउने प्रयास गर्ने पात्र महेश नै देखिन्छन्।

त्यसैले, यस क्षणको मूल्यांकन गर्दा भन्न सकिन्छ, गगनभन्दा आँटिलो महेश देखिए। किनकि उनले जित्ने होइन, टिकाउने राजनीति गरे। समयले अन्तिम फैसला गर्नेछ, तर इतिहास सधैं संकटको घडीमा उभिनेहरूलाई नै सम्झन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button