लेनिनग्रादको नाकाबन्दी : भोकलाई हतियार बनाइएको युद्ध र मानव आत्माको अदम्य विजय

# मुना चन्द

इतिहासका पानाहरूमा धेरै युद्धहरू अंकित छन्, तर ती सबै युद्धले मानव चेतनामा समान प्रभाव छोडेका छैनन्। केही युद्धहरू केवल सत्ता, सीमाना र शक्ति सन्तुलनको कथा हुन्; तर केही घटनाहरू यस्ता हुन्छन्, जसले मानव सभ्यताको नैतिक सीमा, युद्धको अमानवीय स्वरूप र मानव आत्माको असाधारण सहनशीलतालाई एकैचोटि उजागर गर्छन्। दोस्रो विश्वयुद्धको क्रममा भएको लेनिनग्रादको नाकाबन्दी (Siege of Leningrad) त्यस्तै एक ऐतिहासिक घटना हो, जहाँ मृत्यु केवल बन्दुक र बमबाट होइन, योजनाबद्ध भोकमरीबाट आयो।

सन १९४१ सेप्टेम्बर ८ मा नाजी जर्मनीको नेतृत्वमा रहेको फासिवादी सैन्य गठबन्धनले सोभियत संघको दोस्रो ठूलो र सांस्कृतिक–औद्योगिक केन्द्र लेनिनग्रादलाई चारैतिरबाट घेराबन्दीमा राख्यो। यो घेराबन्दी साधारण युद्ध रणनीति थिएन। नाजी नेतृत्वले लेनिनग्रादलाई कब्जा गर्ने होइन, शहरसहित जनसंख्यालाई पूर्ण रूपमा समाप्त गर्ने नीति लिएको थियो।

हिटलरका सैन्य निर्देशनहरूमा लेनिनग्रादलाई “भाेकले मर्न दिनु” स्पष्ट उल्लेख थियो। नागरिकको निकासी, आत्मसमर्पण स्वीकार गर्ने सम्भावना वा मानवीय सहायताको कुनै ढोका खुला राखिएको थिएन। यो नाकाबन्दीको मूल उद्देश्य नै जनसंहार थियो।

लेनिनग्राद लगातार ८७२ दिन, सन १९४१ सेप्टेम्बरदेखि १९४४ जनवरीसम्म नाकाबन्दीमा रह्यो। यो अवधिमा करिब १० लाख मानिसको मृत्यु भएको अनुमान छ। तीमध्ये ६ लाखभन्दा बढी बालबालिका, महिला, वृद्ध तथा मोर्चाबाट घाइते भई फर्किएका सैनिक थिए।

मृत्युको प्रमुख कारण गोली वा बम होइन, भोकमरी थियो। दैनिक रासन कहिलेकाहीँ १२५ ग्राम रोटीमा सीमित भयो, त्यो पनि पोषणरहित, चोकर र काठको धुलो मिसिएको। जाडो कठोर थियो, इन्धन थिएन, बिजुली बन्द थियो। मानिसहरू सडकमा, घरभित्र, कारखानामा ढल्थे, शब्दशः भोकले।

लेनिनग्रादको नाकाबन्दीलाई केवल “जर्मन आक्रमण” भन्नु ऐतिहासिक सत्यको अपूर्ण व्याख्या हुन्छ। नाजी जर्मनीसँगै हिटलरद्वारा कब्जा गरिएका वा सहकार्य गरेका विभिन्न युरोपेली देशका सैन्य इकाइहरू यस अपराधमा संलग्न थिए।

नर्वे, नेदरल्यान्ड्स र फ्लान्डर्सका लेजियनहरू, स्पेनी इन्फ्यान्ट्री डिभिजन, तथा बाल्टिक क्षेत्रका लाट्भियन र एस्टोनियन बटालियनहरू नाकाबन्दीमा प्रयोग गरिए। उत्तरतर्फबाट फिनिस सेनाले लेनिनग्रादलाई घेराबन्दी गर्दै तोपखानाबाट निरन्तर गोलाबारी गरिरहेको थियो।

यसले लेनिनग्रादको नाकाबन्दीलाई एक राष्ट्रको होइन, फासिवादी युरोपेली गठबन्धनद्वारा गरिएको सामूहिक युद्ध अपराधको रूपमा स्थापित गर्छ।

नाकाबन्दीका अधिकांश समय लेनिनग्राद बाह्य संसारसँग लगभग पूर्ण रूपमा काटिएको थियो। हवाई मार्ग अत्यन्त सीमित थियो। यस्तो अवस्थामा लादाेगा तालमाथिको अस्थायी यातायात मार्ग नै जीवनरेखा बन्यो, जसलाई इतिहासले ‘रोड अफ लाइफ’ नाम दियो।

हिउँदमा जमेको तालमाथि ट्रकहरू चल्थे। ती ट्रकहरूमा खाद्यान्न, औषधि र युद्ध सामग्री भित्र्याइन्थ्यो, र फर्किँदा बालबालिका तथा कमजोर नागरिकहरू बाहिर निकालिन्थे। तर यो मार्ग सुरक्षित थिएन। नाजी हवाई आक्रमण, तोपखाना र प्राकृतिक जोखिम सधैँ उपस्थित थिए। थुप्रै गाडी तालमै डुब्थे, चालकहरू मारिन्थे। तर पनि यो मार्ग रोकिने थिएन, किनकि यसको विकल्प भनेको शहरको सामूहिक मृत्यु थियो।

नाकाबन्दी तोड्ने प्रयासहरू पहिल्यैदेखि भइरहेका थिए, तर निर्णायक सफलता सन १९४३ जनवरी १८ मा आयो। सोभियत सेनाले ‘अपरेशन इस्क्रा’ नामक रणनीतिक आक्रमण सञ्चालन गर्‍यो।

लादाेगा तालको दक्षिण किनारमा पर्ने सबैभन्दा साँघुरो भाग श्लिसेलबुर्ग क्षेत्र मुख्य प्रहार केन्द्र बनाइयो। भीषण लडाइँपछि नाजी रक्षा पंक्ति चिरियो र ११ किलोमिटर चौडाइको स्थलमार्ग खुल्यो।

यो मार्ग पूर्ण मुक्ति होइन, तर जीवन र मृत्युबीचको निर्णायक पुल थियो। तीन हप्ताभित्र रेलमार्ग निर्माण गरियो। नियमित आपूर्ति सुरु भयो। बिजुली विस्तारै पुनःस्थापित भयो। लेनिनग्राद पुनः बाँच्न थाल्यो।

लेनिनग्रादको नाकाबन्दी भंग हुनु केवल मानवीय उपलब्धि थिएन; यसको गहिरो सैन्य–रणनीतिक महत्व थियो। यसले उत्तर–पश्चिमी मोर्चामा सोभियत सेनाको स्थितिलाई मजबुत बनायो।

हिटलरको लेनिनग्राद कब्जा गर्ने योजना पूर्ण रूपमा विफल भयो। जर्मन वेहरमाख्ट र फिनिस सेनाबीचको सम्भावित संयुक्त निर्णायक आक्रमण असम्भव बन्यो। यसले फासिवादी शक्तिहरूको मनोबलमा गहिरो आघात पुर्‍यायो र युद्धको समग्र धारालाई प्रभावित गर्‍यो।

नाकाबन्दी भंग भएको अवसरमा अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी. रोसवेल्टले लेनिनग्रादका नागरिकहरूलाई विशेष सन्देश पठाए। उनले लेनिनग्रादका सैनिक र नागरिकलाई केवल सोभियत होइन, सम्पूर्ण विश्वका फासिवाद विरोधी शक्तिहरूको प्रतीकका रूपमा सम्मान गरे।

यो सन्देशले लेनिनग्रादको संघर्षलाई राष्ट्रिय सीमाभन्दा माथि उठाएर मानव सभ्यताको साझा प्रतिरोधको रूपमा स्थापित गर्‍यो।

अन्ततः सन १९४४ जनवरी २७ मा लेनिनग्राद–नोभगोरोड आक्रमणपछि नाकाबन्दी पूर्ण रूपमा अन्त्य भयो।

दशकौँपछि, सन २०२२ मा, सेन्ट पिटर्सबर्ग सिटी कोर्टले नाजी जर्मनी र उसका सहयोगीहरूद्वारा लेनिनग्रादमा गरिएको कार्यलाई युद्ध अपराध, मानवता विरुद्धको अपराध र नरसंहार (Genocide) भनेर आधिकारिक रूपमा मान्यता दियो। यो निर्णयले इतिहासलाई स्मरण गरायो, युद्ध अपराधको समयसीमा हुँदैन।

लेनिनग्राद केवल एक शहर होइन। यो भोकलाई हतियार बनाउने फासिवादी क्रूरताको प्रमाण हो। र एकैसाथ, मानव आत्मा कति बलियो हुन सक्छ भन्ने अद्वितीय उदाहरण पनि हो। ८७२ दिनको अँध्यारोमा पनि लेनिनग्राद लडिरह्यो, बाँच्छु भन्ने विश्वास गुमाएन। त्यसैले, लेनिनग्राद इतिहासमा पराजित शहर होइन, अमर प्रतिरोधको प्रतीक हो।

श्राेतहरू (Sources):
Russian Ministry of Defence – Historical Archives on the Siege of Leningrad
Encyclopaedia Britannica – Siege of Leningrad
United States Holocaust Memorial Museum – Eastern Front and Civilian Casualties
Franklin D. Roosevelt Presidential Library – Letters and Wartime Correspondence
Saint Petersburg City Court Decision, 2022 (Official Court Records)
Soviet General Staff Historical Reports on Operation Iskra
Anna Reid, Leningrad: Tragedy of a City Under Siege, 1941–1944

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button