३ बैशाख २०८३, बिहीबार

भर्तामा बाघ-बिरालो मेला

कालिकोट । शुभकालिका–३ भर्ताको भाउसैन गाउँमा नयाँ वर्षको अवसरमा परम्परागत बाघ–बिरालो मेला सम्पन्न भएको छ। पुर्खौंदेखि चल्दै आएको यस मेलामा भाउसैन गाउँका ७४ घरधुरी अधिकारी खलकले हरेक वर्षझैं यो परम्परालाई निरन्तरता दिएका छन्।

वैशाख १ गते अर्थात तागाको दिन स्थानीय पर्व अधिकारी बाघ र किरण अधिकारी बिरालोको भूमिकामा रहेका थिए। स्थानीय हेमन्त अधिकारीका अनुसार एक सातासम्म घर–आँगन लिपपोत गरी चोखो खाना खाएर बसेपछि वैशाख १ गते अधिकारी परिवारका दुई खलकमध्ये कर्मकाण्ड गर्नेहरूबाट जेठो सन्तानपट्टिका व्यक्ति बाघ र कान्छोपट्टिका व्यक्ति बिरालो बनेर जङ्गल (जिउलो) तर्फ कुद्ने गर्दछन्। गाउँलेहरूले उनीहरूलाई भेट्टाएर समातेपछि बाजागाजासहित ७४ घरधुरीमै पुगी नाचगान गर्दै पूजाआजा गर्ने चलन रहेको छ।

हेमन्त अधिकारीले भने, “विन्द्रासैनी देवीको खुसीका लागि बाघ र बिरालो बनेर कुद्ने चलन छ। पुर्खौंदेखि हरेक वर्ष नयाँ सालको दिन भर्तामा बाघ–बिरालो मेला लाग्ने गरेको छ।” अधिकारी परिवारकै फरक–फरक घरबाट बाघ र बिरालो बनाइने र अरू गाउँलेले लखेटेर समातेपछि बाजा बजाउँदै घरघरमा पुगेर पूजा गर्ने परम्परा रहेको बताइएको छ।

शुभकालिका–३ का युवा छत्र रोक्का मगरका अनुसार बाघ र बिरालो बनाएर पूजा गरेमा पशुवस्तुको रक्षा हुने र गाउँमा रोगव्याधिको डर नहुने जनविश्वास रहेकाले यो मेला सञ्चालन गर्दै परम्परालाई निरन्तरता दिइँदै आएको हो। यद्यपि, स्थानीय उर्मिला तिमिल्सिनाले परम्परागत मेलाका क्रममा पाक्न लागेको गहुँबारीमा कुद्ने चलन भने सुधार गर्नुपर्ने धारणा राखेकी छिन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button