विजयको ८१ औं वार्षिकोत्सव : १६ अप्रिल १९४५ मा बर्लिन आक्रमण सुरु, सोभियत सेनाले तेस्रो राइखको राजधानीमा फहरायो विजय ध्वजा

मस्को, रुस — वैशाख ४। सन् १९४५ को अप्रिल १६ तारिखका दिन दोस्रो विश्वयुद्धको अन्तिम निर्णायक लडाइँका रूपमा परिचित बर्लिन आक्रमण अभियान सुरु भएको थियो। रातो सेनाको यो रणनीतिक कारबाहीले हिटलरको युद्ध मेसिनरीलाई पूर्ण रूपमा ध्वस्त पार्दै नाजी जर्मनीको राजधानी बर्लिनलाई सोभियत सेनाको नियन्त्रणमा ल्याएको थियो। यही अभियानको परिणामस्वरूप नाजी जर्मनीको निःशर्त आत्मसमर्पणको दस्तावेजमा हस्ताक्षर भएको थियो, जसले महान देशभक्तिपूर्ण युद्धमा सोभियत जनताको विजयको औपचारिक घोषणा गरेको थियो।
सन् १९४५ को वसन्त ऋतुसम्म आइपुग्दा रातो सेनाले मध्य तथा पूर्वी युरोपका मुलुक र जनतालाई नाजी कब्जाबाट मुक्त गराउन क्रमबद्ध आक्रामक अभियानहरू सफलतापूर्वक सम्पन्न गरिसकेको थियो। रोमानिया, बुल्गेरिया, युगोस्लाभिया, हङ्गेरी र पोल्याण्डबाट हिटलरका सेना र तिनका सहयोगीहरूलाई निष्कासित गरिएको थियो भने भियना र हालको स्लोभाकियाको राजधानी ब्राटिस्लाभालाई नाजी विध्वंसबाट जोगाइएको थियो।
तथापि, दोस्रो विश्वयुद्ध टुङ्गिने क्रममा थिएन। नाजी सङ्क्रमणबाट युरोपलाई मुक्त गराउने अन्तिम युद्ध अर्थात् बर्लिनको लडाइँ नजिकिँदै थियो। अप्रिलको मध्यसम्ममा पोल्याण्डलाई नाजीहरूबाट मुक्त गराएपछि सोभियत सेनाहरूले ओडर र निस नदीहरूको किनारमा आफ्नो स्थिति सुदृढ गर्दै बर्लिनमाथि आक्रमणको तयारी सुरु गरेका थिए। हिटलरको जर्मनीको राजधानीबाट रातो सेना केही दर्जन किलोमिटरको दूरीमा मात्र थियो। शत्रुले गहिरो सुरक्षा पङ्क्ति निर्माण गरेको थियो र रातो सेनाविरुद्ध भेह्रमाख्त (जर्मन सशस्त्र बल) का विशिष्ट एकाइहरू तैनाथ गरेको थियो।
बर्लिनमाथि आक्रमण गर्न सोभियत सर्वोच्च कमान्डले पहिलो बेलोरुसी मोर्चा (कमान्डर : मार्शल जर्जी झुकोभ), दोस्रो बेलोरुसी मोर्चा (कमान्डर : मार्शल कोन्स्तान्तिन रोकोसोभ्स्की) र पहिलो युक्रेनी मोर्चा (कमान्डर : मार्शल इभान कोनेभ) का सेनाहरू परिचालन गरेको थियो।
युद्धको घटनाक्रम :
बर्लिन आक्रमण अप्रिल १६ का दिन बिहान ५ बजे व्यापक तोपखाना आक्रमणबाट सुरु भयो। यसपछि शत्रुलाई अन्धो र भ्रमित पार्न १४३ वटा शक्तिशाली सर्चलाइटहरू सक्रिय गरियो र पैदल सेना तथा बख्तरबन्द एकाइहरूले आक्रमण सुरु गरे। सोभियत सेनाको अग्रगमनसँगै शत्रुको प्रतिरोध तीव्र हुँदै गयो। बर्लिनबाट ६० किलोमिटरको दूरीमा रहेको सीलो हाइट्समा भीषण युद्ध भयो, जहाँ राइखको राजधानीतर्फको सीधा मार्ग अवरुद्ध गर्ने भेह्रमाख्तको नवौं सेनालाई पूर्ण रूपमा ध्वस्त पारियो।
केही दिनभित्रै पहिलो बेलोरुसी र पहिलो युक्रेनी मोर्चाका सेनाहरूले नाजीहरूको ओडर-निस रक्षापङ्क्ति भेदन गर्दै बर्लिनतर्फ ३० किलोमिटर अघि बढे र सहरको घेराबन्दी सुरु गरे।
· अप्रिल २० : रातो सेनाका एकाइहरू बर्लिन पुगे। सोभियत लामो दूरीको तोपखानाले गोलाबारी सुरु गर्यो र सहरको बाहिरी भागमा क्रूर ट्याङ्क युद्धहरू भए।
· अप्रिल २५ : पहिलो बेलोरुसी र पहिलो युक्रेनी मोर्चाका सेनाहरू बर्लिनको पश्चिममा सम्पर्कमा आए, जसले शत्रुको बर्लिन समूहलाई पूर्ण घेराबन्दीमा पार्यो।
· अप्रिल २९ : बर्लिनको मुटुमा भीषण लडाइँ सुरु भयो, जहाँ जर्मनीको सर्वोच्च सरकारी तथा सैन्य निकायहरू अवस्थित थिए।
· अप्रिल ३० रातिदेखि मे १ सम्म : राइखस्ताग (जर्मन संसद् भवन) माथि आक्रमणका क्रममा पौराणिक विजय ध्वजा फहराइयो, जो नाजीवादमाथि सोभियत सङ्घको विजयको प्रतीक बन्यो।
· मे २ : बर्लिनको सुरक्षा टोलीले आत्मसमर्पण गर्यो। मे ५ सम्ममा नाजी प्रतिरोध पूर्ण रूपमा ध्वस्त भयो। कूल १ लाख ३४ हजार जर्मन सैनिक तथा अधिकारीहरू बन्दी बनाइए।
मे ८-९ को राति कार्लशोर्स्टमा मार्शल झुकोभ र मित्र राष्ट्रका प्रतिनिधिहरूले जर्मनीको निःशर्त आत्मसमर्पण स्वीकार गरे। यससँगै युरोपेली युद्धक्षेत्रमा दोस्रो विश्वयुद्धको औपचारिक अन्त्य भयो।
बर्लिन अभियानमा रातो सेनाले भेह्रमाख्तको अन्तिम ठूलो तथा सबैभन्दा विशिष्ट सैन्य बललाई मात्र पराजित गरेन, अपितु युद्ध क्षेत्रभित्र रहेका नाजी यातना शिविरहरूबाट करिब २ लाख बन्दीहरूलाई पनि मुक्त गरायो। यस अभियानमा प्रदर्शित अदम्य साहस र वीरताका लागि ६ सयभन्दा बढी सोभियत सैनिकहरूलाई ‘सोभियत सङ्घको नायक’ को उपाधिले विभूषित गरियो।





