२६ बैशाख २०८३, शनिबार

राजमार्ग ठप्प पारेको भारतीय ट्यांकर चार महिनादेखि अलपत्र, धनीले लिएनन् जिम्मा

रौतहट । गत पुसमा करिब २४ घण्टा पूर्व–पश्चिम राजमार्ग ठप्प पारेको ग्यास बोकेको बुलेट ट्यांकर चार महिना बित्दा पनि सम्बन्धित धनीले नलगेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा अलपत्र अवस्थामा रहेको छ ।

चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको दोस्रो लच्कानजिकै २०८२ पुष १५ मा यूपी १७ एपी २११४ नम्बरको एलपी ग्यास लोड बुलेट ट्रक स्टेरिङ जाम भएर अनियन्त्रित हुँदा सडकको बीचमै दुर्घटना भएको थियो । भारतबाट वीरगन्ज नाका हुँदै पूर्वतर्फ आउँदै गरेको उक्त ट्यांकर सडकमा पल्टिँदा २४ घण्टा यातायात अवरुद्ध भएको थियो । दुर्घटनामा भारतको जयनगर थानाको कदोरमाका ३७ वर्षीय चालक पवन यादव घाइते भएका थिए ।

ग्यास लिक र आगलागीको जोखिमका कारण तत्काल हटाउन सकिने उपकरण तथा तयारी अभावले राजमार्ग खुलाउन ढिलाइ भएको थियो । सरकारी संयन्त्रसँग यस्ता दुर्घटनामा प्रयोग हुने उपकरण नहुँदा समस्या भएको थियो । २४ घण्टापछि सबै ग्यास बाहिर निकालेपछि मात्र ट्यांकर सडकबाट उठाइएको थियो ।

उक्त बुलेट ट्यांकर राजमार्गबाट उठाएर ल्याइसकेको चार महिना बितिसक्दा पनि सवारीधनी जिम्मा लिन नआएको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेन्द्र थापामगरले बताए । ‘हामीले त्यसै बेला चालकमार्फत खबर पठाएका थियौं, तर अहिलेसम्म लिन आएका छैनन्,’ उनले भने, ‘कार्यालय अगाडि ट्यांकर अलपत्र अवस्थामा छ, न हटाउनु न राख्नु भएको छ । यसको जानकारी माथिल्लो निकायमा गराइसकेका छौं ।’

भारतीय सामान भएकाले ट्राफिक प्रहरीले अन्यत्र राख्ने प्रक्रिया अघि बढाउन नसकेको जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button