धरानमा ४७ किलो विस्फोटक पदार्थका कम्पोनेन्ट बरामद, तीन जना नियन्त्रणमा

ड्रागन मिडिया सम्वाददाता
प्रहरीले सुनसरीको धरानबाट विस्फोटक पदार्थ बनाउन प्रयोग हुने ४७ किलो सामग्री बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ।
भन्सार छली ल्याइएका सामानसँगै मिनी ट्रकमा लुकाएर राखिएको अवस्थामा उक्त सामग्री फेला परेको प्रहरीले जनाएको छ। इटहरीबाट धरानतर्फ जाँदै गरेको मिनी ट्रक जाँच गर्ने क्रममा बोराभित्र प्याकिङ गरिएको सेतो ठोस पदार्थ बरामद भएको थियो।
नियन्त्रणमा लिइएकामा मोरङको विराटनगर महानगरपालिका–४ छिटाहाका २५ वर्षीय प्रदीपकुमार साह तथा जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशी छन्।
परीक्षणका लागि बरामद पदार्थ नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला, सामाखुसी पठाइएको थियो। प्रयोगशालाको प्रतिवेदनले उक्त पदार्थलाई ‘लो एक्सप्लोसिभ’ अर्थात् गन पाउडर वा ब्ल्याक पाउडरको कम्पोनेन्टका रूपमा पहिचान गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिन खोज्दा मिनी ट्रकमा सवार व्यक्तिहरूले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए। उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय धरानले अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। प्रयोगशालाको प्रतिवेदनपछि विस्फोटक पदार्थसम्बन्धी कसुरमा पनि थप अनुसन्धान अघि बढाइएको छ।
बरामद सामग्री कहाँबाट ल्याइएको थियो र यसको प्रयोजन के थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।





