ह्वाइट हाउस नजिकै हतियारसहित भेनेजुएली नागरिक पक्राउ

ड्रागन मिडिया समाचार कक्ष
ह्वाइट हाउस नजिकै चोरीको गाडीमा हतियारसहित भेटिएका २६ वर्षीय भेनेजुएली नागरिक रोनी योरड्रिक्स गुआनिपा क्रिनोसलाई अमेरिकी सुरक्षा निकायले नियन्त्रणमा लिएको छ। अमेरिकी गृह सुरक्षा विभाग र सिक्रेट सर्भिसका अधिकारीले बिहीबार राति उनलाई पक्राउ गरेको सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरीका अनुसार उनी चोरीको नीलो फोर्ड एफ–१५० गाडीभित्र सुतिरहेको अवस्थामा भेटिएका थिए। सोधपुछका क्रममा गुगल ट्रान्सलेटको सहयोग लिएर उनले आफूसँग हतियार रहेको बताएपछि गाडीको खानतलासी गरिएको थियो। त्यस क्रममा एआर–१५ शैलीको राइफल, म्याक–१० ह्यान्डगन, ग्लक ४३एक्स पेस्तोल र ठूलो परिमाणमा गोलीगट्ठा फेला परेको प्रहरीले जनाएको छ।
अनुसन्धानकर्तालाई दिएको बयानमा उनले आफूलाई आउने आवाजले राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न उक्साउने गरेको बताएका छन्। उनले केही हतियार किनेको र केही अरूबाट खोसेको दाबी गरेको पनि प्रहरीले जनाएको छ। उनी सन् २०२४ मा अवैध रूपमा अमेरिका प्रवेश गरेको विवरणसमेत सार्वजनिक भएको छ।
घटनाबारे अमेरिकी सुरक्षा निकायले थप अनुसन्धान गरिरहेका छन्।





