२६ भाद्र २०८३, शुक्रबार

चीनमा व्यवसाय विस्तार गर्न अमेरिकी कम्पनीलाई स्वागत : राष्ट्रिय विकास तथा सुधार आयोग

ड्रागन मिडिया समाचार कक्ष

चीनले अमेरिकीसहित विदेशी कम्पनीलाई आफ्नो बजारमा उपस्थिति विस्तार गर्न र १५औँ पञ्चवर्षीय योजना २०२६–२०३० कार्यान्वयनबाट सिर्जना हुने विकास अवसर उपयोग गर्न स्वागत गरेको छ।

चीनको शीर्ष आर्थिक योजना निकाय राष्ट्रिय विकास तथा सुधार आयोगले बिहीबार आयोजित एक गोलमेच बैठकमा यस्तो धारणा व्यक्त गरेको हो। बैठकमा चीनस्थित अमेरिकी वाणिज्य चेम्बर, अमेरिका–चीन व्यापार परिषद् र चीनमा सञ्चालनरत ६० भन्दा बढी अमेरिकी कम्पनीका गरी करिब १०० प्रतिनिधि सहभागी थिए।

आयोगले अमेरिकी कम्पनीलाई चीन र अमेरिकाबीच आर्थिक सहकार्यको पुलका रूपमा भूमिका खेल्न, द्विपक्षीय सहकार्यको सम्भावना उपयोग गर्न तथा थप संयुक्त परियोजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ।

बैठकमा आयोगका अधिकारीहरूले चीनको १५औँ पञ्चवर्षीय योजनाको रूपरेखा प्रस्तुत गर्दै आगामी पाँच वर्षमा विदेशी लगानी आकर्षित गर्न अपनाइने नीतिबारे जानकारी दिएका थिए।

आधुनिक कृषि, उपभोक्ता विद्युतीय सामग्री, उन्नत प्रविधि, जैवऔषधि, औद्योगिक उत्पादन र विद्युत क्षेत्रसँग सम्बन्धित अमेरिकी कम्पनीका प्रतिनिधिले चिनियाँ अधिकारीसँग आफूहरूका सरोकारका विषयमा विस्तृत छलफल गरेका थिए।

चीनले १५औँ पञ्चवर्षीय योजना अवधिमा उच्चस्तरीय खुलापनलाई थप अघि बढाउने र विदेशी लगानीकर्तालाई चिनियाँ बजारमा विकास गर्न सहयोग पुग्ने नीतिहरू ल्याउने योजना बनाएको छ।

योजनाको रूपरेखाले विदेशी लगानी आकर्षित र प्रभावकारी रूपमा उपयोग गर्न थप प्रयास गर्नुपर्नेमा जोड दिएको छ। त्यसका लागि विदेशी लगानीकर्ताका लागि व्यवसायिक वातावरण थप सुधार गर्ने तथा सेवा र सुरक्षासम्बन्धी संयन्त्र बलियो बनाउने लक्ष्य राखिएको छ।

चीनको पछिल्लो सन्देशले व्यापारिक मतभेद र अन्तर्राष्ट्रिय आर्थिक अनिश्चितताका बीच पनि अमेरिकी कम्पनीसहित विदेशी लगानीकर्ताका लागि चिनियाँ बजार खुला राख्ने र व्यावहारिक आर्थिक सहकार्य विस्तार गर्ने नीति निरन्तर रहेको संकेत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button