छ वर्षमा पनि भेरी करिडोरका पाँच पुल अधुरा, करोडौँ भुक्तानी

ड्रागन मिडिया सम्वाददाता
भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड खण्डमा निर्माणाधीन पाँच वटा मोटरेबल पुल ठेक्का सम्झौता भएको करिब छ वर्ष पुग्न लाग्दासमेत पूरा हुन सकेका छैनन्।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएका पुलमध्ये कतै काम नै सुरु भएको छैन भने कतै पिलरको आधा संरचना मात्रै निर्माण भएको छ। जाजरकोटलाई डोल्पासँग जोड्ने भेरी करिडोरअन्तर्गत सडक निर्माण र स्तरोन्नति अघि बढे पनि पुल निर्माण वर्षौँदेखि अलपत्र परेको छ।
मैदेखोला, तात्रखोला र ताक्सुगाडमा पुल निर्माणको जिम्मा रायामाझी क्याराभान जेभी, काठमाडौंले पाएको थियो। २०७७ माघ १ गते १३ करोड ५४ लाख ३८ हजार ९०० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
तर, झन्डै छ वर्षको अवधिमा ती तीन पुलको भौतिक प्रगति जम्मा ६ प्रतिशतमा सीमित छ। निर्माण व्यवसायीले पेश्की तथा रनिङ बिलमार्फत एक करोड ८३ लाख ९३ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ।
ताक्सुगाडमा अहिलेसम्म निर्माण सुरु भएको छैन। मैदेखोलामा एउटा पिलरको जग खनिएको छ भने तात्रखोलामा एउटा पिलरको आधा भाग मात्रै निर्माण भएको छ।
झुप्रेखोला र नलगाड खोलामा निर्माण हुने पुलको अवस्था पनि उस्तै छ। यी दुई पुलका लागि क्याराभान हिराचन जेभी, काठमाडौंसँग २०७७ माघ २ गते १८ करोड ४३ लाख चार हजार ३०० रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।
हालसम्म यी दुई पुलको भौतिक प्रगति १२ प्रतिशत मात्रै रहेको छ। निर्माण व्यवसायीले दुई करोड ७५ लाख १० हजार रुपैयाँ भुक्तानी लिइसकेको छ। तर, झुप्रेखोलामा काम सुरु भएको छैन भने नलगाड खोलामा एउटा पिलरको आधा संरचना मात्रै उठाइएको छ।
पाँच वटै पुलको कुल ठेक्का रकम ३१ करोड ९७ लाख ४३ हजार २०० रुपैयाँ रहेको छ। त्यसमध्ये निर्माण व्यवसायीहरूले हालसम्म चार करोड ५९ लाख तीन हजार रुपैयाँभन्दा बढी भुक्तानी लिइसकेका छन्। तर, निर्माण प्रगति भने अत्यन्त न्यून छ।
काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्नुको सट्टा पटक पटक म्याद थपिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। दुवै ठेक्काको म्याद २०८३ पुस ३० गतेसम्म थप गरिएको छ।
स्थानीय गणेश बानियाँले वर्षौँसम्म एउटा पनि पुल सम्पन्न गर्न नसक्ने निर्माण कम्पनीलाई कारवाही गरी ठेक्का तोड्नुको सट्टा निरन्तर म्याद थपिएको बताए। थपिएको समयभित्र पनि काम सम्पन्न हुनेमा स्थानीय विश्वस्त छैनन्।
सुरुमा सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का लगाएका यी पुल पछि भेरी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको हो। लामो समयसम्म निर्माण अघि नबढेपछि ठेक्का व्यवस्थापन र अनुगमनको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ।
जाजरकोटदेखि डोल्पासम्मको यातायात सहज बनाउन यी पुल महत्वपूर्ण मानिन्छन्। सडक पुगे पनि खोलामा पुल नहुँदा वर्षायाममा यातायात अवरुद्ध हुने गरेको छ।
पानीको बहाव बढेका बेला विद्यार्थी, बिरामी, ज्येष्ठ नागरिक तथा दैनिक आवतजावत गर्ने सर्वसाधारण जोखिम मोलेर खोला तर्न बाध्य हुँदै आएका छन्।





