भोजपुरको अकबरे खुर्सानीले पायो राम्रो बजार, किसानको आम्दानीको भरपर्दो स्रोत बन्दै

ड्रागन मिडिया सम्वाददाता
भोजपुरमा उत्पादित अकबरे अर्थात् डल्ले खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख शहरमा राम्रो बजार पाउन थालेको छ। गाउँगाउँसम्म सडक तथा यातायात सुविधा विस्तार भएसँगै जिल्लामा उत्पादित खुर्सानी काठमाडौं, धरान, विराटनगर, झापालगायतका बजारमा ठूलो परिमाणमा पठाउन थालिएको छ।
परम्परागत खाद्यान्न बालीको तुलनामा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि भोजपुरका धेरै किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्। किसानले स्थानीय बजारमै प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्ममा खुर्सानी बिक्री गर्दै आएका छन्।
पौवादुङमा गाउँपालिका वडा नं. २ तिवारीभञ्याङका किसान टिकाराम तिवारीका अनुसार तिवारीभञ्याङ सङ्कलन केन्द्रबाट मात्रै दैनिक ३०० देखि ४०० किलोसम्म खुर्सानी बाहिरी जिल्लाका बजारमा पठाउने गरिएको छ। सडक सुविधा विस्तार भएपछि व्यापारी किसानका खेतबारी तथा स्थानीय सङ्कलन केन्द्रमै पुगेर खुर्सानी खरिद गर्न थालेका छन्।
भोजपुर नगरपालिका वडा नं. ५ बोखिमकी किसान कमला थापाका अनुसार अहिले उत्पादन भएको खुर्सानी बिक्री तथा बजारीकरणमा कुनै समस्या छैन। भोजपुरको पहाडी हावापानीमा उत्पादन हुने अकबरे खुर्सानी पिरो र स्वादिलो भएकाले बाहिरी जिल्लामा यसको माग उच्च रहेको किसानको भनाइ छ।
कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादवका अनुसार जिल्लामा यस वर्ष करिब ५४५ हेक्टर क्षेत्रफलमा अकबरे खुर्सानी खेती भइरहेको छ। यो वर्षको कुल उत्पादनको अन्तिम तथ्याङ्क आउन बाँकी भए पनि गत आर्थिक वर्षमा जिल्लामा पाँच हजार २३२ मेट्रिकटन अकबरे खुर्सानी उत्पादन भएको थियो।
गत आर्थिक वर्षको अकबरे खुर्सानी उत्पादनबाट भोजपुरमा करिब २३ करोड रुपैयाँ भित्रिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ। यादवका अनुसार व्यावसायिक खुर्सानी खेती जिल्लाका किसानको महत्वपूर्ण आम्दानीको स्रोत बनेको छ र ठूलो संख्यामा किसान यस खेतीमा आबद्ध भएका छन्।
अकबरे खुर्सानी खेती विस्तारका लागि स्थानीय तहहरूले किसानलाई अनुदान तथा अन्य सहयोगसमेत उपलब्ध गराउँदै आएका छन्। राम्रो बजार, सहज यातायात र नियमित मागका कारण भोजपुरमा अकबरे खुर्सानी व्यावसायिक कृषिको आकर्षक क्षेत्रका रूपमा विस्तार भइरहेको छ।





