२८ भाद्र २०८३, आईतवार

भोटेकोशी बाढीको त्रासले हिल्सा हुँदै कैलाश–मानसरोवर जाने नौ समूहको यात्रा रद्द

ड्रागन मिडिया सम्वाददाता

नेपाल–चीन सीमाक्षेत्रको हिल्सा नाका हुँदै कैलाश–मानसरोवरको धार्मिक यात्रा गर्ने तयारीमा रहेका नौ वटा पर्यटक समूहले आफ्नो यात्रा रद्द गरेका छन्। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उत्पन्न त्रासका कारण ती समूहले हुम्लाको हिल्सा नाकाबाट तय गरिएको यात्रा समेत स्थगित गरेका हुन्।

रिचा ट्रेकका हुम्ला क्षेत्र हेर्ने पर्यटन व्यवसायी विष्णुबहादुर रावतका अनुसार यात्राको मिति निर्धारण गरिसकेका नौ समूहले भोटेकोशी बाढीले पुर्‍याएको ठूलो जनधनको क्षतिबाट त्रसित भएर यस पटकको कैलाश–मानसरोवर यात्रा रद्द गरेका छन्। यात्रा रद्द गर्ने समूहमा करिब डेढ सय भारतीय धार्मिक पर्यटक रहेका छन्।

यात्रा व्यवस्थापनमा संलग्न टच कैलाश, कैलाश भिजन, कैलाश ट्रेक र रिचा ट्रेकलगायत विभिन्न ट्राभल तथा ट्रेकिङ एजेन्सीसँग सम्बन्धित समूहले आफ्नो कार्यक्रम रद्द गरेका हुन्। बाढीपछिको अवस्थालाई लिएर पर्यटकमा देखिएको चिन्ता कायमै रहेकाले आगामी दिनमा थप समूहले पनि यात्रा स्थगित वा रद्द गर्न सक्ने पर्यटन व्यवसायीको आकलन छ।

रसुवाको भोटेकोशीमा आएको बाढीको प्रत्यक्ष प्रभाव हिल्सा नाकामा नपरे पनि हिमाली सीमाक्षेत्रको यात्रालाई लिएर पर्यटकमा मनोवैज्ञानिक त्रास बढेको देखिएको छ। एउटै मौसममा अर्को हिमाली सीमाक्षेत्रमा ठूलो विपद् भएपछि यात्रा सुरक्षा, सडक अवस्था र आकस्मिक उद्धार क्षमताबारे पर्यटक तथा ट्राभल एजेन्सीहरू थप सतर्क बनेका छन्।

यसको असर हुम्लाको पर्यटन व्यवसायमा पनि देखिन थालेको छ। हिल्सा नेपालबाट कैलाश–मानसरोवर जाने महत्वपूर्ण मार्गमध्ये एक हो र विशेषगरी भारतीय धार्मिक पर्यटकका लागि यो मार्गको ठूलो महत्व छ। यात्राका लागि आउने विदेशी पर्यटकबाट होटल, यातायात, हवाई सेवा, भरिया, स्थानीय व्यापार र पर्यटन सेवामा प्रत्यक्ष आर्थिक गतिविधि हुने भएकाले समूहगत यात्रा रद्द हुँदा स्थानीय पर्यटन अर्थतन्त्रसमेत प्रभावित हुने देखिएको छ।

पर्यटन व्यवसायीहरूले हिमाली क्षेत्रमा भएका पृथक घटनालाई समग्र कैलाश–मानसरोवर मार्गको सुरक्षासँग जोडेर अत्यधिक त्रास फैलिन नदिन आधिकारिक र नियमित सूचना प्रवाह आवश्यक रहेको बताएका छन्। हिल्सा मार्गको वास्तविक अवस्था, मौसम, यातायात तथा सीमा सञ्चालनबारे स्पष्ट जानकारी उपलब्ध गराउन सके पर्यटकको विश्वास पुनःस्थापित गर्न सहयोग पुग्ने उनीहरूको अपेक्षा छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button