प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान, बेइजिङ स्याङसान फोरममा सहभागी हुने

ड्रागन मिडिया सम्वाददाता
प्रधानसेनापति अशोकराज सिग्देल चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा चीन प्रस्थान गरेका छन्। बेइजिङतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीप जङ्ग केसीले बिदाइ गरेका थिए।
भ्रमणअघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति सिग्देललाई सम्मान गारत अर्पण गरेको थियो। भ्रमणका क्रममा उनी १३औँ बेइजिङ स्याङसान फोरममा सहभागी हुने कार्यक्रम रहेको छ।
यस भ्रमणलाई नेपाल र चीनबीचको सैनिक सम्बन्ध थप विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ। सैनिक कूटनीतिमार्फत आपसी विश्वास, संस्थागत सम्पर्क र सहकार्यलाई बलियो बनाउँदै नेपालको समग्र परराष्ट्र नीतिमा पनि सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।





