एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्नुपर्ने आईजीपी कार्कीको जोड
ड्रागन मिडिया सम्वाददाता
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउन कृत्रिम बुद्धिमत्तामा आधारित सीसीटीभी तथा अन्य प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका छन्।
काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै कार्कीले ट्राफिक प्रहरी सवारीसाधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै सवारी व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न वैज्ञानिक र व्यवस्थित प्रणाली आवश्यक रहेको बताए।
उनले कृत्रिम बुद्धिमत्तामा आधारित सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङ स्थल र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। फुटपाथ व्यवस्थापन तथा आकस्मिक प्रतिकार्य प्रणालीलाई पनि थप प्रभावकारी र समन्वित बनाउनुपर्ने उनको भनाइ थियो।
कार्कीले नेपाल प्रहरी र स्थानीय तहबीच भौतिक पूर्वाधार निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको जानकारी पनि दिए। देशका ७५३ वटै स्थानीय तहलाई गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत नेपाल प्रहरीसँग आवश्यक समन्वय गर्न पत्राचार भइरहेको उनले बताए।
उनका अनुसार स्थानीय तहले आवश्यकताअनुसार प्रहरीलाई जग्गा तथा भवन उपलब्ध गराउने, प्रहरी कार्यालय निर्माण तथा मर्मतमा सहयोग गर्ने, सवारीसाधन र विपद उद्धार सामग्री उपलब्ध गराउने तथा सीसीटीभी जडान र विस्तारमा सहकार्य गर्न सक्छन्। प्रविधि र स्थानीय तहसँगको सहकार्य विस्तार गर्न सके शहरी सुरक्षा, ट्राफिक व्यवस्थापन र आकस्मिक सेवाको प्रभावकारिता बढ्ने अपेक्षा गरिएको छ।





