प्रधानसेनापति सिग्देल साताव्यापी चीन भ्रमणमा, सगरमाथा फ्रेण्डसिप अभ्यासबारे पनि छलफल हुने

ड्रागन मिडिया सम्वाददाता
प्रधानसेनापति अशोकराज सिग्देल चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। उनी नेपाली सेनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार मध्यान्ह बेइजिङतर्फ प्रस्थान गरेका हुन्।
आश्विन ३ गतेसम्म चल्ने औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति सिग्देल १३औँ बेइजिङ सियाङसान फोरममा सहभागी हुनेछन्। सुरक्षा, प्रतिरक्षा तथा क्षेत्रीय स्थायित्वका विषयमा उच्चस्तरीय छलफल हुने उक्त फोरममा विभिन्न देशका सैनिक तथा सुरक्षा क्षेत्रका उच्च अधिकारी सहभागी हुने कार्यक्रम छ।
भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले चिनियाँ जनमुक्ति सेनाका उच्च सैन्य अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक श्रोतले जनाएको छ। भेटवार्तामा नेपाल र चीनका सेनाबीच विद्यमान सहकार्यलाई थप विस्तार गर्ने, सैनिक तालिम तथा अनुभव आदानप्रदान र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
दुई देशका सेनाबीच हुँदै आएको सगरमाथा फ्रेण्डसिप संयुक्त सैन्य अभ्यासका विषयमा पनि कुराकानी हुने बताइएको छ। उक्त अभ्यास आतंकवाद प्रतिरोध, विपद व्यवस्थापन तथा संयुक्त तालिमसँग सम्बन्धित सैनिक सहकार्यको महत्वपूर्ण माध्यमका रूपमा रहँदै आएको छ।
प्रधानसेनापति सिग्देल चीन भ्रमणमा रहेसम्म वरीयतामा दोस्रो स्थानमा रहेका बलाधिकृत रथी प्रदीप जङ्ग केसीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ।





