२८ भाद्र २०८३, आईतवार

जी–२० को मियामी सम्मेलनमा पुटिन–जेलेन्स्की भेट असम्भव : क्रेमलिन

ड्रागन मिडिया समाचार कक्ष

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच आगामी डिसेम्बरमा अमेरिकाको मियामीमा हुने जी–२० शिखर सम्मेलनका क्रममा भेटवार्ता हुने सम्भावनालाई क्रेमलिनले अस्वीकार गरेको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यस्तो भेट “असम्भव” रहेको बताएका छन्। उनले पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता हुनुपर्ने अवस्था आए त्यो मस्कोमै हुन सक्ने रुसी पक्षको अडान दोहोर्‍याएका छन्।

जेलेन्स्कीले यसअघि पुटिन जी–२० सम्मेलनमा सहभागी भए आफू मियामी पुगेर प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताएका थिए। उनले युद्ध अन्त्यका लागि दुई नेताबीच भेट, संवाद र निर्णय आवश्यक रहेको धारणा राखेका थिए।

क्रेमलिनले भने पुटिन स्वयं डिसेम्बर १४ र १५ मा मियामीमा हुने जी–२० सम्मेलनमा सहभागी हुने कि नहुने भन्नेबारे अहिलेसम्म अन्तिम निर्णय नभएको जनाएको छ। पेस्कोभका अनुसार मस्कोले पुटिनको मियामी भ्रमणबारे अझै निश्चित निर्णय गरेको छैन।

रुसी पक्षले जेलेन्स्कीलाई मस्कोमा वार्ताका लागि आउन सक्ने प्रस्ताव यसअघि पनि राख्दै आएको छ। तर युक्रेनी पक्षले वार्तास्थलका रूपमा तेस्रो मुलुक वा अन्तर्राष्ट्रिय मञ्चलाई बढी उपयुक्त ठान्दै आएको छ।

यसैबीच रुस, युक्रेन र अमेरिकाबीच रोकिएको त्रिपक्षीय शान्ति वार्ता पुनः सुरु गर्ने प्रयास पनि भइरहेको छ। पछिल्ला दिनमा अमेरिकी प्रतिनिधिहरूले मस्को र किभ दुवैसँग सम्पर्क बढाएका छन् भने सम्भावित नयाँ वार्ताका लागि टर्की, संयुक्त अरब इमिरेट्स र स्विट्जरल्यान्डजस्ता स्थानको नामसमेत चर्चामा आएको छ।

मियामीमा पुटिन–जेलेन्स्की भेटको सम्भावना क्रेमलिनले अस्वीकार गरेसँगै दुवै पक्षबीच प्रत्यक्ष उच्चस्तरीय संवादको स्थान र स्वरूप फेरि प्रमुख कूटनीतिक विवादको विषय बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button