३० भाद्र २०८३, मंगलवार

चीनमा खेलकुदमा कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोग, प्रशिक्षणदेखि निर्णायक प्रणालीसम्म विस्तार

ड्रागन मिडिया समाचार कक्ष

विश्वकप फुटबल र ग्रान्ड स्लाम टेनिसजस्ता ठूला प्रतियोगितामा कृत्रिम बुद्धिमत्ता आधारित निर्णय प्रणाली सामान्य बन्दै जाँदा चीनमा यस्ता प्रविधि अब सर्वसाधारण खेलाडी, युवा खेलकुद र दैनिक फिटनेससम्म विस्तार हुन थालेका छन्।

बेइजिङको शोउकाङ पार्कमा आयोजित सन् २०२६ को चाइना इन्टरनेसनल फेयर फर ट्रेड इन सर्भिसेसमा खेल सेवा प्रदर्शनी क्षेत्रलाई कार्यशील खेलस्थलको स्वरूप दिइएको थियो। त्यहाँ प्रशिक्षण, निर्णायक प्रणाली र फिटनेसमा कृत्रिम बुद्धिमत्ता तथा डिजिटल प्रविधिको प्रयोग प्रत्यक्ष प्रदर्शन गरिएको थियो।

इनडोर टेनिस कोर्टमा राखिएको कृत्रिम बुद्धिमत्ता आधारित ‘स्मार्टसट’ प्रणालीले खेलाडीको चाल, बलको गति, प्रहारको दिशा, बल खसेको स्थान र शटको वेग विश्लेषण गर्ने क्षमता प्रदर्शन गरेको थियो। प्रणालीका उत्पादन सञ्चालन व्यवस्थापक काओ खाईका अनुसार कोर्टमा जडित क्यामेराले प्रत्येक र्‍यालीको प्रत्यक्ष दृश्य संकलन गरी प्रशिक्षण वा प्रतिस्पर्धापछि विस्तृत प्रदर्शन विश्लेषण र विशेष क्षण समेटिएको भिडियो स्वतः तयार गर्छ।

उनका अनुसार उक्त प्रणालीले खेलाडीको प्रशिक्षण, प्रतिस्पर्धा र खेल सुधार गर्ने तरिकामा नयाँ परिवर्तन ल्याइरहेको छ। यो प्रविधि बेइजिङ, क्वाङचौ, शनयाङ र यिनछ्वानसहित चीनका विभिन्न शहरमा प्रयोगमा आइसकेको छ भने क्यानडा, अस्ट्रेलिया लगायतका विदेशी बजारमा पनि विस्तार भइरहेको छ।

प्रदर्शनीमा बेइजिङ रिगोर टेक्नोलोजीले विकास गरेको फुटबलको भिडियो सहायक निर्णायक नियन्त्रण कक्षको नमुना पनि राखिएको थियो। कम्पनीले भलिबल, बेसबल र सफ्टबलका लागि समेत बुद्धिमत्तापूर्ण निर्णायक प्रणाली विकास गरेको छ। सन् २०२३ मा अन्तर्राष्ट्रिय फुटबल महासंघले रिगोरको भिडियो सहायक निर्णायक र अफसाइड प्रविधि परीक्षण गरी निर्धारित मापदण्डअनुसार प्रमाणित गरेको थियो।

रिगोर टेक्नोलोजीका परियोजना व्यवस्थापक वु कुओयुले तीव्र गतिका खेलमा मानव निर्णायकको दृष्टि र प्रतिक्रिया समय सीमित हुन सक्ने भएकाले सबै सूक्ष्म घटना समात्न कठिन हुने बताए। उनका अनुसार कृत्रिम बुद्धिमत्ता आधारित प्रणालीले वस्तुनिष्ठ पुनरावलोकन उपलब्ध गराउँछ।

फुटबलमा अफसाइड पहिचान गर्दा प्रणालीले विभिन्न क्यामेराबाट प्राप्त दृश्यलाई गहिरो सिकाइ मोडेल र तस्बिर प्रशोधन प्रविधिमार्फत विश्लेषण गर्छ। अफसाइड अवस्था पहिचान भएपछि प्रसारण दृश्यमा सटीक रेखा तयार गरी निर्णायकलाई निर्णय लिन सहयोग पुर्‍याइन्छ।

यस्ता प्रविधि अब उच्चस्तरीय प्रतियोगितामा मात्र सीमित नराखी विद्यालय, युवा तथा सर्वसाधारण खेलकुदमा पनि लैजाने तयारी भइरहेको छ। धेरै स्थानीय र सौखिन प्रतियोगितामा पेशेवर निर्णायक नहुने भएकाले बल भित्र वा बाहिर परेको विषयमा खेलाडीबीच विवाद हुने गरेको वुले बताए। सर्वसाधारणका लागि कम लागत र सहज प्रयोग गर्न सकिने बुद्धिमत्तापूर्ण निर्णायक प्रणालीको आवश्यकता बढिरहेको उनको भनाइ छ।

कृत्रिम बुद्धिमत्ता र डिजिटल प्रविधिले मनोरञ्जनात्मक फिटनेसको दायरा पनि विस्तार गरिरहेको छ। डुंगा चलाउने खेल, क्यानोइङ वा स्कीइङजस्ता गतिविधिका लागि पानी, हिउँ वा विशेष पूर्वाधार आवश्यक पर्ने भए पनि भर्चुअल खेल प्रविधिले यस्ता अनुभवलाई फरक स्थानमा समेत सम्भव बनाएको छ।

प्रदर्शक मेइ चचियाका अनुसार भर्चुअल खेलस्थल दैनिक व्यायाम केन्द्रका रूपमा प्रयोग गर्न सकिन्छ र त्यही संरचनामा भर्चुअल प्रतियोगिता पनि आयोजना गर्न सकिन्छ। उनका अनुसार आधुनिक खेल सेवा अब खेल सामग्री बिक्रीमा मात्र सीमित छैन, विभिन्न खेल परिवेशअनुसार पूर्ण समाधान उपलब्ध गराउने दिशातर्फ अघि बढिरहेको छ।

प्रदर्शनीका क्रममा सार्वजनिक गरिएको चीनको खेल सेवा व्यापार तथा विकाससम्बन्धी प्रतिवेदनअनुसार सन् २०२५ मा प्रमुख खेल सेवाको कुल आयात निर्यात ७४ अर्ब ८७ करोड ५० लाख युआन पुगेको थियो। यो अघिल्लो वर्षको तुलनामा ७ दशमलव ९८ प्रतिशत वृद्धि हो।

चीनको खेलकुदसम्बन्धी राष्ट्रिय प्रशासनका आर्थिक निर्देशक याङ स्युएतोङले खेल सेवा व्यापार नयाँ उचाइमा पुगेको र व्यापार संरचना तथा खेल अर्थतन्त्रमा उल्लेखनीय सुधार भएको बताए। उनका अनुसार अब ठूलो तथ्याङ्क र कृत्रिम बुद्धिमत्ताको प्रयोगलाई तीव्र बनाउँदै प्रविधिक नवप्रवर्तनमार्फत खेल उद्योगलाई थप सशक्त बनाइनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button